आजदेखि सिनेमा हलमा ‘ताण्डवम्’

फ्राइडे रिलिज अन्तर्गत आज फागुन ९ गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘ताण्डवम्’ प्रदर्शनमा आएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले बिहीवार यो फिल्मलाई पिजी सर्टिफिकेट प्रदान गरेपछि आजदेखि यो फिल्म दर्शकमाझ प्रदर्शन भएको हो ।
अब यो फिल्म हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावक साथ लिएर जानु पर्नेछ । यो फिल्मका अभिनेता समेत रहेका निर्देशक जुनिम गहतराजले कथाको मर्म नमर्ने गरि फिल्मको हिंसात्मक दृश्य काटिएको बताएका छन् ।
पहिलो पटक सेन्सर गर्न लैजादा २ घण्टा ६ मिनेट लामो फिल्मले दोस्रो सेन्सरबाट करिब १ घण्टा ५६ मिनेटको रनटाइम बनाइएको छ । पूरा फिल्मबाट करिब १० मिनेट रनटाइम घटाइएको निर्देशक गहतराजले जानकारी दिएका छन् ।
फिल्मको सेन्सर पास भएसँगै बिहीवार नै अग्रीम टिकट बुकिङ खुला गरिएको थियो । यो फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम
गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । यो फिल्मले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको यो फिल्ममा निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।










