मेरो जिम्मेवारी यही हो त ?

कोल्हवी न्यूज
२०७८ श्रावण १८, सोमबार १५:१९ गते

चन्द्रमणि रिमाल
कोल्हवी – १, खैरा

सबैभन्दा पहिला जसले यस धर्तीमा पाइला टेकाएर सुनौलो संसारको अवलोकन गर्ने सुअवसर प्राप्त गर्नुभयो म उहाँकै विषयमा चर्चा गर्दै छु ।

अभिभावक भन्ने शव्द निकै गह्रुङ्गो छ । बोक्न जो कोहीले सहजै सक्दैनन् । बिच बाटोमै फ्याकिदिन्छन् थाप्लोका भारी । बिसाउँछन् हरेक यात्राहरुमा । अनि जो कोहीले पूरा गर्न गाह्रो हुन्छ अभिभावकत्व । अझ सोच त वृहत नै हुनुपर्छ अभिभावकको साँघुरो होइन । अभिभावकले आफ्ना छोराछोरीको विद्यालयमा तिर्ने शुल्क नै सबथोक हो भन्ने बुज्रुक भनौँ या सबथोक जान्ने  अभिभावकका लागि विशेष कुरा घर नै संसारको सबैभन्दा ठूलो र शक्तिशाली विद्यालय हो भन्ने कुरा बुझ्नु अत्यावश्यक छ । आफूले तिरेको शुल्कले आफ्ना नानीबाबुहरुलाई सबै सिकाउनुपर्छ भन्दै गर्दा बालबालिकाको व्यक्तित्व विकासका लागि आमाबाबु र परिवारको जति महत्व हुन्छ त्यो वातावरण, संस्कार र अनुशासनपूर्ण व्यवहारमा शिक्षकको भूमिका नयून हुन सक्छ । फेरि यो अर्थमा भूमिका र दायित्वचाहिँ हुँदै नहुने भनेको पनि होइन नि । असल पाठशाला घर हो भनेको जस्तै प्रथम गुरुचाहिँ बाबुआमा नै हुन् भन्न खोजेको मात्र हुँ । अब सोच्नुस् त,  म साच्चै अभिभावक भएँ त ? मेरो काँधको भारी हलुङ्गोसँग बोक्ने कि भारीसँग ?  मैले गर्नुपर्ने जिम्मेवारी पूरा गरेको छु कि नाइ ?

आज आफ्नो नाम स्थापित गर्ने विभिन्न व्यक्तिहरुलाई केलाएर हेर्ने हो भने ती सबैको राज आखिर अभिभावक नै हुन् भन्न अप्ठ्यारो मान्नु हुँदैन । जसको घरमा सभ्यता, संस्कृति, मूल्य, मान्यता, बोलीचाली र आचरण राम्रो हुन्छ अवश्य नै तीनका बालबालिकाले आफ्नो जीवनलाई सरल तरिकाबाट अगाडि बढाइरहेका हुन्छन् । अभिभावकले घरमा पढाउनु भनेको बालबालिकालाई जीवनमा सफल हुने तालिम दिनु हो । संस्कृति, रीतिरिवाज, चालचलन, राम्रो, असल र सिर्जनामुखी बनाउने अभिभावकको उत्तिकै दायित्व र जिम्मेवारी हुन्छ । अभिभावकले जति समय दिनुपर्ने हो आफ्ना बालबालिकालाई त्यतिचाहिँ नपाएका नै हुन् । सभ्य, सचेत, प्रतिस्पर्धी, योग्य नागरिक बनाएर व्यक्ति, परिवार, समाज र राष्ट्रका लागि योगदान दिनसक्ने एक सन्तान उत्पादन अथवा निर्माण गर्न सक्छौँ भने हामी अभिभावकले समय दिन कन्जुस्याँई किन गर्ने ? त्यसका लागि हामी अभिभावकले सोच्नै पर्ने अवस्था सिर्जित भएको छ । सन्ततिका अगाडि हिँड्ने पाइलाहरु कहाँ बढाउँदै हुनुहुन्छ तपाईँहरुले ? कुन मार्गमा लम्काउँदै हुनुहुन्छ ?

एउटा विद्यार्थी वा सन्तानले अभिभावकले जस्तो व्यवहार प्रदर्शन गर्छन् पछि उनीहरुले त्यस्तै व्यवहार सिक्छन् किनकि उनीहरु नै भविष्यका अभिभावक हुन् । आफू खराब आचरण भएपनि आफ्ना बालबालिका असल हुन् भन्ने चहाना प्रत्येकमा हुन्छ, त्यो ठूलो भूल हो । आफू असल बनेर आफ्ना सन्तान वा विद्यार्थीका लागि किन उदाहरणीय ब्यक्ति नबन्ने त ?

एउटा अभिभावक जब आफ्ना बालबालिका प्रति जिम्मेबार, सचेत, निष्ठावान्, कर्तव्यबोध हुँदैनन् अनि चासो दिँदैनन् भने त्यस्ता अभिभावकबाट आम छोराछोरी र राज्यले के अपेक्षा गर्न सक्ला र ? आजको युग कामै नभएपनि सबै व्यस्त हुने, सबैका आ–आफ्ना पार्टी, साथीभाइ, भोजभतेर, सबै छन् तर आफ्नै छोराछोरीका लागि समय खर्चिन सक्दैनन् । न्यानो माया–ममता नदिई वात्सल्य जीवन एक्लो महसुस गराइदिने अभिभावकले आफ्ना सन्तानबाट के अपेक्षा राख्न सक्लान् र ? जुन बेला आफ्ना नातेदार इष्टमित्र, अभिभावक बिर्सिएर साथी प्यारो लाग्छ त्यो बेला एक सच्चा अभिभावकले उनीहरुको साथी, मित्र, सङ्गति बनेर उनीहरुलाई किन समय दिन सक्दैनन् त ?

हरेक परिवर्तन स्वभावाविक हुने नियमित प्रक्रिया हो । यसलाई कसैले रोक्न सक्दैन । जसमा उमेरगत रुपमा आउने परिवर्तनलाई अभिभावकले सही समयमै बुझ्नु जरुरी छ । आजभोलि गलत र सही छुट्याउन नसक्ने उमेरका बालबालिकाले सिको गर्ने उमेरमा नराम्रा कुराको सिको गर्ने, आफ्नो धनसम्पत्तिको घमन्ड तथा फुर्ति, सान देखाउने, अभिभावक हिँडेको बाटामा हिँड्न खोज्नेजस्ता कामहरु गर्ने उमेरमा हामीजस्ता अभिभावकले राम्रो शिक्षाका साथसाथै अभिभावकत्व दिन सकेनौँ भने दूर्घटना निम्तिन कत्ति नै बेर लाग्दैन । अझ भनौँ भने जहाँ पार्टी छ त्यहाँ सँगसँगै छोराछोरी लैजाँदा तिनीहरुले के सिक्लान् त्यस भेटघाटबाट ? खान  पिउन ?

जब एउटा घर राम्रो हुन्छ, समाज राष्ट्र र विश्व नै निश्चय नै राम्रो हुन्छ । घर परिवारको हेरचाह, माया ममता, गरिने व्यवहार, संस्कृति र संस्कार जस्ता चिजले प्रत्यक्ष प्रभाव पारेको हुन्छ । अभिभावकको विद्यालयप्रतिको चासो जागृत हुनु पर्दछ । आफ्ना बालबालिका प्रति विषय शिक्षक, विद्यालय प्रशासन साथै समकक्षी साथीसँग शोधखोज गरिरहनु पर्दछ । टेलिभिजन, मोवाइल र विभिन्न प्रविधिको प्रभावबाट आजभोलि बच्चाहरू धेरै बिग्रने गरेको प्रशस्तै सुन्न पाइन्छ । उनीहरुको साथसङ्गत र उनीहरुमा आएको परिवर्तनको पनि अभिभावकले विशेष ख्याल राख्नु जरुरी छ । आफ्ना सन्ततिका साथीहरु कहाँका हुन् ? उनीहरुका अभिभावक केमा काम गर्नुहुन्छ ? उसको आदत कस्तो छ त्यो विषयमा विशेष हेक्का राख्नुपर्छ ।

यो त भयो घर र परिवारले आफ्ना बच्चाको व्यवहार बनाउने आधारभूत आवश्यकताको कुरा, अब कुरा गरौँ जीवको गोरेटो कोर्ने थलो तथा कोराउनेको बारेमा

कक्षाकोठाको अवस्थालाई ध्यानै नदिई अटेसम्म काठमाडौंँमा चल्ने नेपाल यातायातको बसले मान्छे कोचेजस्तै, फिलिम हलले भुइँमा राखेर चलचित्र देखाएजस्तै विद्यालयले विद्यार्थी कोच्ने गरेको तीतो–सत्य अझै पनि जीवित नै छ । कम्तिमा विद्यार्थीहरुलाई मध्यनजर गरेर विद्यालयमा सुरक्षित भौतिक पूर्वाधार निर्माण गर्ने हो भने पक्कै छतबाट, झ्यालबाट अथवा अन्य कुनै स्थानबाट विद्यार्थीहरुको लडेर मृत्यु हुने थिएन कि ? अनि विद्यार्थी अनुसार शिक्षण सामग्री, पुस्तकालयको उचित व्यवस्था हुनु अहिलेको समयमा टड्कारो देखिन्छ । अझ भन्नुपर्दा कति पब्लिकेशनशरुले हेर्नका लागि दिएका किताब नै पुस्तकालयमा राख्दा अजिब लागेर आउँछ । बिलमा पुस्तकालय भन्ने शीर्षकमा रकम जान्छ अनि नयाँ पुस्तक चाहिँ उही फाल्गुनतिर मात्रै । त्यस्तै खेलमैदान, वरिपरिको वातावरण, सफा चमेनागृह, शुद्ध खानेपानी, सफा एवम् सहज चर्पी, कक्षाकोठा, सूचनाप्रविधि मैत्री व्यवस्थापन भए नभएको विद्यालय प्रशासनले ध्यान दिनु नितान्त आवश्यक देखिन्छ, अहिलेको सन्दर्भ भनौँ या यो २१ औँ शताब्दीमा । यसका साथै सरसफाइ र विद्यालयको सुरक्षा सम्बन्धी व्यवस्थाको ख्याल राख्नुपर्दछ । केही निजी विद्यालयको पाठ्यक्रम र पाठ्यपुस्तक विक्रेताको हो कि कुनै नातेदारको ? यसमा शङ्का गर्ने ठाउँ नै छैन । केही त्यस्ता व्यापारी तथा केही कमिसनवादीको सिफारिस किताबहरु लाग्ने गरेको तीतो यथार्थ जीवितै छन् यहाँ । वास्तविक समय सापेक्ष, राष्ट्रिय अन्तर्राष्ट्रिय पाठ्यक्रमको आधारमा छनौट गरिएको छ छैन विज्ञलाई शोधपुछ गर्न पनि उनीहरुसँग समय नै हुँदैन तर रातदिन प्यालाहरुमा भुल्न भने अथाहा समय हुन्छ अनि पुस्तक लागिहाल्यो विद्यालयमा । न त शिक्षकसँग सोधनी नै हुन्छ न त अभिभावकको मर्कालाई मध्यनजर गरिन्छ नै । अभिभावको ढाँड सेक्ने गरी मार पारी विद्यार्थीलाई कितावको भारी बोकाएर मात्र हुँदैन । पाठ्यपुस्तक थुपारी, पाठ्यक्रमको जानकारी नभएका तालिम अप्राप्त शिक्षकले के विद्यार्थीको मानसिक, शारीरिक, संवेगात्मक तगा भावनात्मक विकास गर्न सक्लान् त ? कोर्स सक्नु पर्ने, पाठ्यसामग्री धेरै राख्नाले के व्यक्तिगत रुचि, क्षमता र आवश्यकतामा ध्यान देलान् र ? अनि राष्ट्रले निर्धारण गरेका राष्ट्रिय उद्देश्यहरु पूरा होलान् त ? सोचौँ त एकपटक ।

निजी विद्यालयका शिक्षकहरुले कत्तिको समय दिइरहेका छन् ? विभिन्न शैक्षिक विधिको प्रयोग गर्छन् कि गर्दैनन्, टिकाउ दर कस्तो छ ? शिक्षकले पाउने सेवा सुविधाको तालमेल कस्तो छ ? दक्ष शिक्षक छन् कि छैनन् ? विद्यालयमा नातेदार राख्दा विद्यालयको विरुद्धमा बोल्न नसक्ने भएकाले पनि विद्यालयहरुले सकभर आफ्नै नातेदार राख्ने कसरतमा जुटेका हुन्छन् अचेल त ? विद्यालयमा बनेका संयन्त्रहरु जस्तैः शिक्षक अभिभावक सङ्घ, विद्यालय व्यवस्थापन समिति आदिले समयमै याद गर्न नसक्दा कतिपय दुर्घटनाहरु निम्तिरहेको कुरा हाम्रो आँखा अगाडि छर्लङ्गै छन् । शिक्षकको प्रतिवद्धता र लगनशीलताको अवस्थाको साथै शिक्षकको राम्रो टिम र नेतृत्व पनि असल हुनु पर्दछ । शिक्षकलाई समयानुकूल तालिमको व्यवस्था, विद्यार्थीको शैक्षिक क्यालेण्डर, शिक्षक अभिभावक बैठक जस्ता कुरामा ध्यान दिनु पर्दछ । शिक्षक विद्यार्थीको आचार संहिता तयार गरी अक्षरशः पालनामा ख्याल गर्नुपर्दछ ।

म शिक्षक हुँ । मेरो जिम्मेवारीहरु धेरै छन् भन्ने कुरा शिक्षकले कदापि भुल्नुहुँदैन । विद्यार्थी पढ्दैनन् भन्ने केही शिक्षकहरुले गुनासो गर्ने गरेको कुरा यत्रतत्र सुन्न पाइन्छ । किन पढ्दैनन् भन्ने शिक्षकले कहिल्यै नै अध्ययन गरेको थाहा छैन । त्यसको समाधानका उपायहरु र समाधानको बाटो देखाउनु एक दक्ष शिक्षकको दायित्व र जिम्मेवारी हो । विद्यार्थीमा प्रश्न गर्ने क्षमताको विकास गर्नुपर्छ । विद्यालयमा राजनीति नहुने, राम्रो व्यवस्थापन हुने र शिक्षकले राम्रोसँग पढाउने हो भने नतिजा राम्रो हुने कुरामा दुइमत नै छैन ।

शिक्षकलाई राजनीतिक दलका भ्रातृ सङ्गठन बनाएर, दलका झोला बोकाएर सायद विद्यालयको नतिजा आउथ्यो भने किन दिन प्रतिदिन नतिजा कमजोर बन्दै गएको छ त ? किताब ठेली बोकाउनु पर्ने भनेको अब शिक्षकलाई नै हो । जसले राम्रो पढाउँछ, त्यो शिक्षकको राम्रो मूल्याङ्कन गर्नुपर्दछ । शिक्षकले पाठ्यपुस्तक, पाठ्यक्रम भएन भनेमा शिक्षकलाई नै विकल्प के हो, त्यो गर्न लगाउनुपर्छ । राजनैतिक भर्ति रोकी योग्य र क्षमतावान् शिक्षक भर्ना गर्नु पर्दछ । निजी विद्यालयका शिक्षकलाई अनिवार्य नयाँ शैक्षिक शत्रको अन्तमा तालिमको व्यवस्था गरी विद्यालयको पाठ्यपुस्तक र पाठ्य सामग्रीप्रति विज्ञ बनाएर मात्र कक्षामा प्रवेश गराउनु पर्दछ । आधा कोर्स सकिँदासम्म मेलो नपाएका शिक्षकबाट शैक्षणिक विकासमा के अपेक्षा गर्ने राज्यले ?

शिक्षक नै त्यो एक कडी हो, जसको उपस्थितिबिना सिकाइको वातावरण तयार हुँदैन । सिकाइलाई प्रभावकारी र दिगो बनाउने कुरा शिक्षक, विद्यालय र विद्यार्थीबीचको सम्बन्धको दूरीले निर्धारण गर्दछ । केही शिक्षामनोविद्हरू शिक्षक, विद्यालय र विद्यार्थीबीचको सम्बन्ध सुमधुर र मजबुत भयो भने मात्रै शिक्षण सिकाइ प्रभावकारी र दिगो हुन्छ भनी विश्वास गर्दछन् ।

विद्यार्थीले आफूले चाहे जस्तै शिक्षकबाट अपेक्षित व्यवहार पाएका छन् वा छैनन् त्यसको प्रत्यक्ष वा परोक्ष असर उनीहरूको विद्यालयप्रतिको लगाव र शैक्षिक उपलब्धिमा पर्न जान्छ । एक शिक्षकले आफ्नो विद्यार्थीसँग सुमधुर सम्बन्ध कायम गर्न सक्यो भने मात्र विद्यार्थीले विद्यालयको वातावरणमा सुरक्षित र सहज महसुस गर्दछन् । जसको कारणस्वरूप उसको पढाइ प्रतिको लगाव र शैक्षिक उपलब्धिमा पनि वृद्धि भएर जान्छ । जसको कारणले गर्दा सिकाइ प्रभावकारी र दिगो हुन्छ ।

स्किनर र बेलमण्ट जस्ता मनोविद्हरूका अनुसार विद्यार्थीका आधारभूत आवश्यकताको परिपूर्ति भएमा उनीहरूको शैक्षिक लगायत हरेक सकारात्मक क्रियाकलाप सक्रिय भएर जान्छन् जसले गर्दा शिक्षण सिकाइ प्रभावकारी र दिगो हुन्छ भनेका कुरा त हामीले पढ्दै आएका छौँ । फ्रेड्रिक्सका अनुसार मानिसको व्यवहारिक, संवेदनात्मक तथा संज्ञानात्मक पक्षको विकासमा उसको व्यक्तिगत सहभागितामा निर्भर गर्दछ । उसको व्यक्तिगत सहभागितालाई प्रोत्साहित गर्ने वातावरण तयार पार्न सक्नु नै एक असल र सफल शिक्षकको दायित्व हो । यसरी शिक्षकको असल र मायालु व्यवहारले शिक्षण सिकाइमा ठूलो महत्व राख्दछ । शिक्षक मात्रै एक यस्तो कडी हो जसले सिकाइलाई सम्भव र व्यावहारिक बनाउँदै जीवनोपयोगी बनाउँछ ।

शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धले मात्र शैक्षिक उपलब्धि हासिल गर्न सकिन्छ । लगनशील शिक्षक, मिहिनती विद्यार्थी र सहयोगी अभिभावकहरुको साथले मात्र विद्यालयको विकास हुन्छ । मानवीय मूल्य सहित बौद्धिक, शारीरिक, सांस्कृतिक र भावनात्मक रुपमा विद्यार्थीलाई हुर्काउन अभिभावक, विद्यालय, विद्यार्थी र शिक्षक सबै पक्षको उत्तिकै भूमिका हुन्छ ।

विद्यालय मन्दिर हो, गुरु त्यहाँका भगवान् अनि विद्यार्थी दिनहुँ त्यहाँ पुगेर आशीर्वाद अर्थात् विद्या आर्जन गर्ने एक शिष्य । विद्यार्थीका बारेमा हरबखत सोचिरहनु पर्दछ, पढ्दा सहज हुने उपाय सोचिरहनु तथा खोजिरहेनु प्रत्येक शिक्षकको दायित्बोध हो । यदि विद्यार्थीको कमी–कमजोरी भए शिक्षकले उसलाई सुधार्ने बाटोतर्फ लानुपर्छ । हामी कसैले यो कुरा भुल्नु हुँदैन कि शिक्षा र स्वास्थ्य हरेक व्यक्तिको मौलिक अधिकार हो र यस्ता चिजबाट कोही पनि वञ्चित हुनु हुँदैन ।

नेपालको संविधानमा उल्लेखित बालबालिकाको हक–अधिकारअनुसार कुनै पनि बालबालिकालाई मानसिक एवम् शारीरिक यातना दिन पाइने छैन । तसर्थ शिक्षकले आफू पनि साथीजस्तै भै विद्यार्थीका लागि घुलमिल हुने सहज वातावरण सिर्जना गर्नुपर्छ अनि मात्र त्यो विद्यालय मन्दिरको पर्यायवाची हुनेछ । ज्ञानी, असल, अनुशासित विद्यार्थीबाट नै परिवार, विद्यालय, समाज र राष्ट्रले आशा गरेको सपना पूरा हुने हुँदा तपाईँ हामी किन अबेर गर्दैछौँ यस कामका निम्ति ?

अतः विद्यार्थीको सुन्दर भविष्य निर्माण कर्ता, मार्गदर्शक, पथप्रदर्शकमा लागिपर्ने गुरु, आफ्ना सन्तानका लागि हरतरहले २४ औँ घन्टा लागिपर्ने अभिभावक तथा अभिभावकबाट लिएको शुल्कले मोजमस्ती गर्ने केही विद्यालय हामी विद्यार्थीहरूका पथप्रदर्शक अर्थात् मार्गदर्शक हौँ र यी तीनै पक्षको सुमधुर सम्बन्धबाटै सुन्दर समाजको परिकल्पना गर्न सकिन्छ भन्ने कुरा कदापि भुल्नुहुँदैन । बालबालिकाले खराव र असल छुट्टाउन समय त लाग्छ नै यद्यपि त्यसका लागि हामी जिम्मेवार अभिभावक, शिक्षक र विद्यालयले बारम्बार सही पथ प्रदर्शन गरिरहनु पर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*