दोस्रो आर्थिक गणना सुरु, पाँच हजार जनशक्ति परिचालन

कोल्हवी न्यूज
२०८३ बैशाख २, बुधबार ०८:०२ गते

आजदेखि देशव्यापी रूपमा दोस्रो आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्यांक कार्यालय का अनुसार गणनाका लागि खटिएका गणक र सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् र स्थलगत तथ्यांक संकलनको काम सुरु भइसकेको छ।

निर्धारित कार्यतालिकाअनुसार तथ्यांक संकलन आगामी असारको पहिलो सातासम्म सम्पन्न गरिने लक्ष्य राखिएको छ। यस अभियानमा करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ, जसले देशभरका विभिन्न आर्थिक गतिविधिहरूको विस्तृत विवरण संकलन गर्नेछ।

अर्थ मन्त्रालय ले औद्योगिक तथा आर्थिक अवस्थाबारे यथार्थपरक तथ्यांक प्राप्त गर्न यो गणना अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ। गणनामा उद्योग, व्यापार, सेवा, सहकारी, निजी तथा सार्वजनिक संस्थाहरूको संख्या, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत १८ क्षेत्रका आधारभूत विवरण समेटिनेछन्।

यस क्रममा दर्ता भएका वा नभएका साना–ठूला व्यवसाय, स्वरोजगारमूलक प्रतिष्ठान, उद्योग, गैरसरकारी संस्था, विद्यालय, अस्पताल तथा सरकारी संस्थानसमेतको विवरण संकलन गरिनेछ।

गणनाको पूर्वतयारीगत काम गत फागुन मसान्तमै पूरा भइसकेको छ भने चैतको सुरुदेखि ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन्। ती कार्यालयहरू असार मसान्तसम्म सञ्चालनमा रहनेछन्।

यसअघि विसं २०७५ मा गरिएको आर्थिक गणनामा देशभर करिब ९ लाख २३ हजारभन्दा बढी प्रतिष्ठान सञ्चालनमा रहेको तथ्य सार्वजनिक गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*