एकसाथ विष सेवन गरेका ३ छात्रामध्ये एकको मृत्यु

कोल्हवी न्यूज
२०८१ पुष १७, बुधबार ०६:४०

बर्दिवास-११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका एकसाथ विष सेवन गरेका ३ जना छात्रामध्ये एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

विष सेवनबाट सिरहाको धनगढी नगरपालिका-१० की १७ वर्षीया छात्रा रिंकु शर्माको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ।

बर्दिवासको इलाका प्रहरीले रिंकुलाई आज (मंगलबार) करिब पौने १२ बजे बर्दिवास-४ को जंगल क्षेत्रमा अचेत अवस्थामा फेला पारी बर्दिवास अस्पताल पुर्‍याएको थियो। अस्पतालका डा. रोशन अधिकारीले रिंकुको मृत्यु घोषणा गरेका हुन्।

रिंकुसँगै विष सेवन गरेका उषा पण्डित र सन्जु यादवको भने बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले दुवैजना छात्राको अवस्था सामान्य रहेको जनाएको छ।

शिक्षालयका प्रशासकीय अधिकृत दावा योन्जनले विष सेवन गरेका तीनैजना ज्योमेट्री (अमिन) विषयको पहिलो वर्षका विद्यार्थी रहेको बताए। एकजना छात्राले टेस्टमा अनुत्तीर्ण भएका कारण विष सेवन गरेको प्रारम्भिक सोधपुछमा जानकारी गराएकी प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*