‘पुष्पा-२’ को भागदौड मच्चिँदा ज्यान गुमाएकी महिलाको परिवारलाई २ करोड
‘पुष्पा-२: द रूल’ को प्रदर्शनका क्रममा भएको भागदौडमा ज्यान गुमाएकी महिलाको परिवार र घाइते छोराको उपचारका लागि दुई करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरिएको छ।
अभिनेता अल्लु अर्जुनका पिता तथा निर्माता अल्लु अरविन्दले घटना पछि अस्पताल पुगेर घाइते बालकसँग भेट गरेपछि अल्लु अर्जुन र ‘पुष्पा-२’ का निर्माण टोलीले यस्तो घोषणा गरेका हुन्।
अल्लु अरविन्दले भने, “हामी अस्पताल पुगेर र डाक्टरहरूसँग कुरा गर्दा बालकको स्वास्थ्य अवस्थामा सुधार देखेर खुसी छौं। छिट्टै उहाँ ठिक भएर हाम्रो बीचमा आउने आशा गर्छौं। परिवार र बालकको सहयोगका लागि दुई करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेका छौं।”
त्यसमा एक करोड अल्लु अर्जुनले दिनेछन्। ५० लाख निर्माण टोलीका तीन निर्माता र ५० लाख निर्देशकले दिनेछन्।
‘पुष्पा-२: द रूल’ को स्क्रिनिङका क्रममा भागदौड मच्चिँदा एक महिलाको ज्यान गएको थियो। यस घटनापछि अल्लु अर्जुनले एक रात जेलमै बिताउनु परेको थियो।एजेन्सी










