‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को प्रस्तोता र निर्णायक घोषणा

कोल्हवी न्यूज
२०८१ मंसिर ३०, आईतवार ११:०० गते

विश्वभर छरिएर रहेका नेपालीबीच आपसी सद्भावलाई कायमै राख्न गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को दोस्रो श्रृंखलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा भएको छ।

काठमाडौंस्थित हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले प्रस्तोता र निर्णायकको घोषणा गरेका हुन्।

त्यस क्रममा उनले विश्वभर छरिएर रहेका नेपालीबीच आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त बनाउन गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताएका छन्।

कार्यक्रममा ‘मेरो भ्वाइस युनिभर्स’ मा गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायिका अञ्जु पन्त, तृष्णा गुरुङ, गायक पुष्पन प्रधानले निर्णायकको भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

यस्तै ‘मेरो डान्स युनिभर्स’ मा निर्णायकका रूपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शंकर विसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के हुन्। दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले २० लाख र दोस्रोले १० लाख रुपैयाँसँगै अरू विभिन्न पुरस्कार प्राप्त गर्नेछन्।

अध्यक्ष अधिकारीले उनले विश्वभर रहेका नेपालीलाई नेपालीपन झल्किने प्रस्तुतिलाई समेट्ने बाहेक अन्य कडाइ गर्ने नियम नभएको जानकारी गराए। सन् २०२३ मा यी दुवै रियालिटी शोहरूको पहिलो सिजनामा संसारका ५२ देशमा बसोबास गरिरहेका नेपालीहरूको सक्रिय सहभागितामा रहेको उनले बताए।

दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा अष्ट्रेलियाका लागि सिड्नीमा भारतको लागि सिलगुडी र मुम्बईमा र नेपालका झापाको दमक, बाँकेको नेपालगञ्ज, कास्कीको पोखरा र काठमाडौंमा अडिसनहरू आयोजना गरिनेछ।

मेरो भ्वाइस युनिभर्सको सिजन २ लाई रियालिटी सोको निर्देशनको क्षेत्रमा ख्याति कमाइ सकेका सुरेश पौडेलले निर्देशन गर्ने छन् भने डान्स युनिभर्सको सिजन २ का लागि निर्देशन विषयमै अध्ययन पूरा गरेकी मोसमी गुरुङले निर्देशन गर्नेछिन्। दुवै शोहरूका लागि चर्चित कार्यक्रम प्रस्तोताहरू अनुबन्धित भएका छन्, जसमा रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोख्रेल र नम्रता श्रेष्ठ समेत छिन्।

विश्वभर छरिएर रहेका नेपाली भाषीहरुका बीचको साझा सांस्कृतिक चौतारी बन्न सकोस्, नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपालीभाषी प्रतिभाहरूलाई जहाँबसे पनि आफ्नो संस्कृतिमा गर्व गर्न सक्ने अवसर दिन सकियोस् भन्ने भावनाले यी रियालिटी शोहरू आयोजना गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए। सहभागी हुन चाहने प्रतिस्पर्धीहरूले फाउण्डेसनको वेभसाइटबाट आवेदन दिन सक्ने छन्। विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरूलाई थप प्रतिस्पर्धाका लागि काठमाडौं लगिने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*