साउथ सुपरस्टार अभिनेता अल्लु अर्जुन गिरफ्तार
भारतको हैदराबादस्थित सन्ध्या सिनेमा हलमा ४ डिसेम्बरमा भएको हङ्गामा घटनामा साउथका सुपरस्टार अभिनेता अल्लू अर्जुनलाई गिरफ्तार गरिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार अर्जुनलाई शुक्रवार उनको निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
घटनामा एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते भएका थिए ।
४ डिसेम्बरमा, सन्ध्या सिनेमा हलमा अभिनेता अल्लू अर्जुनको तेलुगु फिल्म ‘पुष्पा: द रूल पार्ट २’ को प्रिमियरको अवसरमा भारी भीड जम्मा भएको थियो । सोही भीडमा महिलासहित उनका परिवार पनि सामेल थिए । फिल्मको प्रिमियर हेर्नका लागि उत्साहित फ्यानहरूले अनुशासन गुमाउँदा महिलासहित अन्य धेरै व्यक्तिहरू प्रभावित भए । हङ्गामा महिलाको मृत्यु भएको थियो र उनका छोरा गम्भीर घाइते भएका थिए ।
घटनालाई लिएर आठ दिन पछि, आज अभिनेता अल्लू अर्जुनलाई हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीले पक्राउ गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उनी र उनका सुरक्षा टोली तथा सिनेमा हलका व्यवस्थापकविरुद्ध भारतीय दण्ड संहिता (बीएनएस) का धारा १०५ र ११८(१) अनुसार मुद्दा दर्ता गरिएको छ । मृतक महिलाका परिवारको उजुरीका आधारमा केस दर्ता भएको हो ।
अल्लू अर्जुनलाई आज बिहान उनका निवासबाट गिरफ्तार गरिएको हो । घटनाले उनका समर्थकहरू र सिनेमा हलका व्यवस्थापनको जिम्मेवारीप्रति सवाल उठाएको छ ।










