आजदेखि सिनेमा हलमा धिरज र उपासनाको ‘खुस्मा’
संविधान दिवसको अवसर पारेर आज असोज ३ गते बिहीवारदेखि नयाँ नेपाली फिल्म ‘खुस्मा’ प्रदर्शनमा आएको छ । गत मंगलवार काठमाडौंमा आयोजित प्रीमियर शोमा यो फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।
यो फिल्ममा माओवादी द्वन्दको असर भोग्ने सबैले आफैँलाई परेको महसुस गर्ने अनुभव अधिकांशले सुनाएका थिए ।
प्रीमियरमा प्राप्त प्रतिक्रियाबाट उत्साहित देखिएका अभिनेता धिरज मगरले ‘खुस्मा’ लाई आम नेपालीको कथा भन्न रुचाउँछन् । ‘यो सबै नेपालीले भोगेको र देखेको कथा हो । उपासनाले निभाएको चरित्र धेरै महिलाको कथा हो । हामीले छायांकन रुकुममा गर्यौं, तर यो कथा आम नेपालीको हो,’ उनको भनाइ छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका हुने । उनले यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरेपनि यो नै ठूलो पर्दाको पहिलो निर्देशकीय फिल्म हो ।
यो फिल्ममा धिरज र उपासनासंगै माओत्से गुरुङ, खड्कबहादुर पुन ९खबपु०, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापामगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय छ । मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले माओवादी द्वन्दको प्रभावका बीच अंकुराएको प्रेमलाई समेटेको छ ।










