विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा कलाकार ‘ईकु’ पक्राउ
कलाकार सुलेमान शंकर (ईकु) पक्राउ परेका छन्। ईकुकाे नामले परिचित उनी आफ्नाे नाम बदलेर ठगी धन्दामा लागेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई पक्राउ गरेकाे हाे।
उनले कलाकार भिसाकाे नाममा भौगोलिक रुपमा विकट क्षेत्रका मानिसहरुलाई क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा पठाइदिन्छु भन्दै लाखाैँ रकम ठग्ने गरेकाे सीआईबीले जनाएकाे छ।
सीआईबीका अनुसार ईकुले युरोपेली मुलुकहरुमा राम्राे राेजगार र आकर्षक तलब हुन्छ भन्दै आफूले संचालन गरिरहेको एसएमएस फ्लिम्स प्रालिको नाममा रहेकाे ग्लोबल आईएमई बैंककाे खातामा रकम जम्मा गराउन लगाउँथे। उनले १५ देखी २० लाख सम्म रकम जम्मा गर्न लगाउने गरेकाे पाइएकाे छ।
खातामा रकम जम्मा गराइसकेपछि विदेशी मुलुकमा भिषा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरु समेत नक्कली बनाउने गरेकाे सीआईबीले जनाएकाे छ।
पीडितहरूले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा कार्यक्रमको लागी तयारी हुँदैछ भनेर लामाे समयसम्म झुलाई सम्पर्क बाहिर रहेर अरु पिडितलाई ठग्ने कार्यका लाग्ने गरेकाे सीआईबीकाे भनाई छ।
उनले आफ्नाे वास्तविक नाम सुलेमान शंकर बदलेर सुर्यमान शंकर भन्ने गरेका थिए। उनकाे घर ललितपुर उपमहानगरपालिका वडा नं.२४, धपाखेल स्थायी भएपनि काठमाडाैँकाे धुम्बाराही बसेर ठगी गर्ने गरेकाे थिए।
उनलाई मगलबार सीआईबीले काठमाडौं बुढानिलकण्ठ ३ हात्तिगौडाबाट पक्राउ गरेकाे हाे। जिल्ला अदालत काठमडौंबाट ५ दिनकाे म्याद थपेर उनीमाथि थप अनुसन्धान भइरहेकाे सीआईबीले जनाएकाे छ।
सीआईबीले ईकु बाट अरु व्यक्ति पनि ठगिएको भए आफूहरूलाई सम्पर्क गर्न अनुरोध गरेकाे छ।