नेपाली फिल्म अग्निदहनको भारतमा प्रदर्शन
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्निदहन’ हालै भारतको बिहारस्थित सीतामढीमा प्रदर्शन गरिएको छ । बिहारको सीतामढीस्थित कमान्डेन्ट अफ एसएसबी–२०औँ बटालियनमा बटालियन प्रमुख गिरिशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा फिल्म प्रदर्शन गरिएको हो । यो फिल्म नेपालमा आगामी मंसिर ७ मा प्रदर्शन हुँदै छ ।
कार्यक्रममा नेपाल भारत भातृ मञ्चका संस्थापक अध्यक्ष डा नवलकिशोर सिंह, कार्यक्रम संयोजक मनोहर मिश्र, फिल्मका परिकल्पनाकार तथा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष कोविदशरण उपाध्याय, फिल्मका निर्देशक घनश्याम लामिछाने, निर्देशक शिवजी लामिछाने, प्रतिष्ठानका केन्द्रीय सदस्य नारायण देवकोटालगायतको उपस्थिति थियो । भारत भ्रमणको संयोजन मुरली मनोहर सिंहले गरेका थिए भने कार्यक्रमको सञ्चालन उनले नै गरेका थिए ।
फिल्मका परिकल्पनाकार उपाध्यायले बिहारमा आफ्नो फिल्मको ऐतिहासिक प्रदर्शन भएको बताए । ‘हामीले त्यहाँ भोजपुरी भाषामा प्रदर्शन गर्यौँ । त्यहाँ एसएसबीबाट उच्च सम्मानका साथ यो अभियानको फिल्म ‘अग्निदहन’को स्वागत गर्नुभयो । हामी निकट भविष्यमै भारतका विभिन्न राज्यमा र विशेष गरी सीमावर्ती क्षेत्रमा लैजाने तयारी गरेका छौँ,’ उनले भने, ‘नेपाल भारतको सीमावर्ती क्षेत्रमा शिक्षामूलक फिल्म नबनिरहेको अवस्थामा हाम्रो फिल्म त्यहाँका लागि नयाँ कुरा भयो । त्यस कारण पनि उहाँहरू ‘अग्निदहन’ प्रति सकारात्मक हुनुहुन्छ ।’
परिकल्पनाकार उपाध्यायका अनुसार आगामी छठ पर्वका अवसरमा फिल्म ‘अग्निदहन’ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतलनिवासमा प्रिमियर हुँदै छ ।










