आजदेखि सिनेमा हलमा ‘रावायण’ र ‘देवी’
फ्राइडे रिलिज अन्तर्गत आज भदौ २१ गते शुक्रवारका दिन सिनेमा हलमा दुई नयाँ फिल्महरु ‘रावायण’ र ‘देवी’ प्रदर्शनमा आएका छन् । ‘रावायण’ को निर्देशन सुदर्शन थापाले गरेका हुन् भने संजोग राई फिल्म ‘देवी’ का निर्देशक हुन् । तीजको अवसर पारेर यी दुई नयाँ फिल्महरु प्रदर्शनमा आएका हुन् ।
व्यापक प्रचार–प्रसारपछि आजदेखि सिनेमा हलमा आएको ‘रावायण’ मा अभिनेता पल शाह दोहोरो भूमिकामा छन् । उनले पहिलो पटक कुनै पनि फिल्ममा दोहोरो भूमिका निर्वाह गरेका हुन् । यो फिल्ममा पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, योगेश भण्डारी, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, निमा पाण्डे आदि कलाकारले अभिनय गरेका छन् । अभिनेत्री पूजा शर्मा यो फिल्मकी निर्मात्री हुन् ।
यो फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ । यो फिल्मको वितरण आरआर फिल्मसले गरेको छ भने डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको छ ।










