आजदेखि सिनेमा हलमा ‘सतीदेवी’ र ‘नमेटिने घाउ’

कोल्हवी न्यूज
२०८१ भाद्र ७, शुक्रबार ०६:५५ गते

 फ्राइडे रिलिज अन्तर्गत आज भदौ ७ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘सतीदेवी’ तथा ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका छन् । सञ्चारकर्मी लक्ष्मण सुवेदीद्वारा निर्देशित ‘सतीदेवी’ तथा अभिनेता रमित ढुंगानाद्वारा निर्देशित ‘नमेटिने घाउ’ एक साथ प्रदर्शन भएका हुन् ।

अभिनेत्री मलिका महतलाई जुत्ताको माला र कालोमोलो दलेको अवस्थामा प्रस्तुत गर्दै पहिलो पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको फिल्म ‘सतीदेवी’ लामो समयदेखि दर्शकमाझ प्रतिक्षित बनेको फिल्म हो । यसले समाजमा अझै पनि छोरीहरुलाई कसरी तिरस्कार गरिन्छ, सामाजिक मर्यादाका लागि छोरा नै पाउनु पर्छ भन्ने विकृत मानसिकतालाई व्यंग्य गर्दै छोरीहरुले थालेको आन्दोलनलाई चित्रित गरेको छ ।

‘सतीदेवी’ को तीन दिनअघि काठमाडौंमा आयोजित प्रीमियर शोमा यसको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरिएको थियो । फिल्ममा अभिनेत्री मलिका महतले लमजुङ जिल्लाको एउटा गाउँकी युवती सतीदेवी अधिकारी नामक चरित्र निर्वाह गरेकी छिन् । छोरीको संघर्षको कथामा निर्माण भएको यो फिल्ममा समाजको पितृसत्तात्मक सोचविरुद्धको संर्घषलाई चित्रण गरिएको छ ।

एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित ‘नमेटिने घाउ’ मा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । यो फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीप बाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखकका साथमा सुरवीर पण्डित, सुनिल कटुवाल आदि कलाकारले अभिनय गरेका छन् । ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका छन् । यो फिल्ममा शिवम अधिकारीको लेखन छ ।

सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले आज शुक्रवार अर्थात प्रदर्शनको पहिलो दिन ‘सतीदेवी’ लाई २५ शो दिएको छ । क्यूएफएक्सले यो फिल्मलाई काठमाडौं उपत्यकामा १३ शो तथा बाहिर १२ शो दिएको छ भने ‘नमेटिने घाउ’ लाई काठमाडौंमा आठ तथा बाहिर १४ शो गरि कुल २२ शो दिएको छ । बिग मुभिजमा ‘सतीदेवी’ ले तीन शो पाएको छ भने ‘नमेटिने घाउ’ ले दुई शो पाएको छ । आइएनआईले ‘सतीदेवी’ लाई सात शो दिएको छ भने ‘नमेटिने घाउ’ ले तीन शो पाएको छ । वान सिनेमाजले दुवै फिल्मलाई तीन–तीन शो दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*