पाल्पाको रैनादेवीमा मृत्यु दर्ता भइसकेका २३ जनालाई सामाजिक सुरक्षा भत्ता

कोल्हवी न्यूज
२०८१ श्रावण २५, शुक्रबार १५:५६

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले मृत्यु दर्ता भइसकेका २३ जनालाई सामाजिक सुरक्षा भत्ता दिएको छ ।

गाउँपालिकाले वडा नम्बर–१ र २ मा गरी एक/एक जना, वडा नम्बर–३ मा चार जना, वडा नम्बर–४ मा पाँच जना, वडा नम्बर–५ मा पाँच जना, वडा नम्बर–७ मा तीन जना र वडा नम्बर–८ मा चार जना गरी २३ जनाको खातामा सामाजिक सुरक्षा भत्ता पठाएको हो । उनीहरूको खातामा एक लाख ३९ हजार दुई सय ४७ रुपैयाँ भुक्तानी भएको छ ।

सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा ऐन बमोजिम सामाजिक सुरक्षा पाउँदै आएका व्यक्तिको मृत्यु भएमा वा त्यस्तो व्यक्ति सामाजिक सुरक्षा भत्ता पाउन योग्य नभएमा निजको नाम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको अभिलेखबाट हटाउनुपर्ने उल्लेख छ । तर पालिकाले आफैँले मृत्यु दर्ता गरिसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता रकम खातामा पठाएको हो ।

पालिकाले मृत्यु भइसकेका नागरिकको खातामा पठाएको रकम असुल गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले बताउनुभयो । उहाँले आफू भर्खर मात्रै पालिकामा आएको र मृतकको नाममा रकम गएको भए असुल उपर हुने पनि बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*