‘सक्किगोनी’ टिमले गर्‍यो फिल्म ‘लाज शरणम्’ निर्माणकाे घोषणा

कोल्हवी न्यूज
२०८१ श्रावण ४, शुक्रबार १६:५९ गते

फिल्म ‘लाज शरणम्’ निर्माण घोषणा गरिएको छ । लोकप्रिय हास्यसिरियल ‘सक्किगोनी’ टिमले फिल्म बनाउन लागेको हो । सिरियलका निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’ को जन्मदिनको अवसर पारेर शुक्रबार एक कार्यक्रमकाबिच फिल्म घोषणा गरिएको हो ।

कार्यक्रममा वरिष्ठ हास्य कलाकर हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मा, दीपक आचार्य, सोम धिताल, विशाल भण्डारी, ओम प्रकाश अग्रवाल र वितरक मनोज राठी लगायतको उपस्थिति थियो ।

फिल्मको निर्देशन कुमार कट्टेलले गर्न लागेका हुन् । लेखन समेत कट्टेलको रहेको फिल्मका निर्माता नवीन श्रेष्ठ र सह–निर्माता रामनरेश शाह हुन् । फिल्ममा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणि नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भूमिकामा देखिनेछन् । सुदीप बरालको छायाङ्कन रहने फिल्ममा अन्य कलाकार छनौटको चरणमा रहेको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा कलाकार हरिवंश आचार्य, निर्देशकद्धय दीपाश्री निरौला र प्रदीप भट्टराईले निर्माण टिमलाई शुभकामना दिए । फिल्म कमेडी जनरामा बन्न लागेको हो । निर्देशक कुमारले सिंगो फिल्म नगरीको प्रतिनिधित्व हुने गरेर फिल्म निर्माण गर्न लागेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*