गणतन्त्र दिवसको अवसरमा हेटौँडामा लघु चलचित्र र वृत्तचित्र प्रदर्शनी

कोल्हवी न्यूज
२०८१ जेष्ठ १५, मंगलवार ०७:४० गते

 गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले सञ्चार रजिष्ट्रार कार्यालयको समन्वयमा निर्मित लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शनी गरेको छ ।

प्रदेश राजधानी हेटौँडास्थित नारायणी महलको चलचित्र घरमा सोमबार साँझ ५ वटा लघु चलचित्र र एउटा वृत्तचित्र प्रदर्शन गरिएको बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा तयार गरेका विविध कार्यक्रम मध्ये लघु चलचित्र र वृत्तचित्र प्रदर्शनी पनि एक महत्त्वपूर्ण कार्यक्रमका रूपमा राखिएको हो ।

चलचित्र प्रदर्शनीमा बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठ, मन्त्रीहरू युवराज दुलाल, लक्ष्मण लम्साल, माओवादी प्रमुख सचेतक रत्न ढकाल, बागमतीका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपाल, कर्मचारीहरू र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो । सञ्चार रजिष्ट्रार सापकोटा, लघु चलचित्र लेखक, निर्देशक लगायतको उपस्थिति रहेको थियो ।

सञ्चार रजिष्ट्रार सापकोटाका अनुसार आज श्रीधर न्यौपानेद्वारा लिखित तथा निर्देशित लघु चलचित्र ‘फाइट फर आइडेन्टीटी’, कृष्ण प्रसाद धितालको ‘एप्रोन’, पुरुषोत्तम बस्नेतको ‘घटेरो’, अमृत श्रेष्ठको आकाश, निरञ्जन भेटवालको ‘साक्षी रुख’गरी पाँचवटा लघु चलचित्र प्रदर्शन गरिएको थियो । यसैगरी श्रृजना दुवाल निर्देशित ‘बाफाचास’ स्वर्ण मन्दिरको सानु कुमार तामाङको लुकेको स्वर्ग, शीब पुरीको सम्पदा वृत्तचित्र पनि प्रदर्शन गरिएको छ ।

सञ्चार रजिस्ट्रारको कार्यालयले गत फागुनको पहिलो साता चितवनको सौराहामा बागमती प्रदेश भित्रका २० जना लेखकहरूलाई लघु चलचित्रका लागि कथा लेखन सम्बन्धी तालिम प्रदान गरेको थियो । सहभागीहरूले तालिमका क्रममा तयार गरेका कथाहरुमध्येबाट उत्कृष्ट पाँचवटा कथा छनौट भएका थिए । छनौटमा परेका कथामा लघु चलचित्र र वृत्तचित्र बनाउन प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तरगतको सञ्चार रजिस्ट्रारको कार्यालयले प्रोत्साहन स्वरूप सहयोग समेत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*