त्रिशूली दुर्घटनाको शोकमा गोरखा : एकै परिवारका पाँच जनाको मृत्यु, एक बेपत्ता
गोरखा नगरपालिका– ७ पौवाखेत गाउँ नै शोकमग्न भएको छ। शुक्रबार मात्र ४० वर्षीय शंकर रोकाको काठमाडौंमा असमायिक निधन भएपछि दाहसंस्कार गरेर रोका परिवार र उहाँका आफन्त सबै टोली तीन वटा गाडी लिएर गोरखातर्फ जाँदै थियो।
तीन गाडी मध्ये गोरखामा दुई वटा गाडी पैवाखेत पुग्दा समेत एउटा गाडी नआएपछि गाडीमा सवार आफन्तले पटक पटक फोन सम्र्पक गर्दा पनि फोन नलागेपछि मुग्लिङ प्रहरीलाई खबर गर्न बाध्य भएका थिए।
प्रहरीलाई सम्पर्क गर्दा गाडी दुर्घटना भएको खबर पाएपछि आफन्त निकै पीडामा परेका थिए। जुन गाडी दुर्घटना भयो, त्यही गाडीमा बावुको दाहसंस्कर गर्ने छोरा, हजुरआमा, फुपू दिदी रहेकाले आफन्त रुन चिच्याउन थाले। नभन्दै हुने हार दैव नटार भने जस्तै गाडीमा सवार पाँच जनाको त्रिशूली नदीमा सब भेटिएको र एक जना बेपत्ता भएको खबरले आफन्त र सिंगो गाउँ नै एकै छिनमा कालो बादलले छेके जस्तो गरेर गाउँ नै अन्धकार बन्न पुग्यो।
गोरखा नगरपालिका ७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले भन्नुभयो, ‘एकै घर परिवारमा पाँच जनाको ट्याक्सी दुर्घटनमा मृत्यु हुँदा परिवार आफन्त निरास र कोही बोल्न सक्ने अवस्थामा छैनन्।’
शनिबार दाहासंस्कार गरेर राति नै काठमाडौंबाट गोरखातर्फ आउदै गरेको बा २ ज ४१९६ नम्बरको टयाक्सी बिहान ५ बजे चितवनको मुग्लिङ नजिक सिमलधारामा दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा ७० वर्षीया जुनकुरी रोका, ४१ वर्षीया जेठी छोरी हरिमाया रोका उपरकोटी, २८ वर्षीया कान्छी छोरी अन्जना रोका, ९ वर्षीय आगमन उपरकोटी, ज्वाइँ तथा चालक ३५ वर्षका अर्जुन सिर्मल भएको छन्। १८ वर्षका बिवश रोका बेपत्ता छन् । सबै मृतक एकै घर परिवारका आमा, छोरी, नाती, नातिनी र ज्वाइँ हुन्।
मृतक जुनकुरी रोकाको छोराको मृत्यु भएपछि आफन्त सहित सपरिवार गोरखा जान निस्किएका थिए। हिन्दु संस्कार अनुसार दाहसंस्कारकोे गरेर परिवार आफन्त इष्टमित्र लिएर गोरखा जान हिँडेका थिए। तीन वटा गाडी मध्येपछि आएको गाडी गोरखा पुग्दा समेत नआएपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए।
त्यसको केही समयपछि प्रहरीले ट्याक्सी दुर्घटनामा परेको र ६ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। त्यस घटनापछि अहिले पौवाखेतमा सन्नाट छाएको छ।