मधानी महोत्सवमा ७ लाख बढीले अवलोकन गरे,सहयोगीलाई सम्मान
रौतहट:रौतहटको मौलापुर स्थित सम्पन्न पाँचौं मधानी महोत्सवमा ७ लाख भन्दा बढी मानिसले अवलोकन गरेको आयोजकले जनाएको छ। मौलापुर नगरपालिका स्थित पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महोत्सव २०८० को समीक्षा तथा सम्मान कार्यक्रममा उक्त आँकलन गरिएको थियो।
नगरपालिका द्वारा आयोजित उक्त कार्यक्रममा मेयर रिना कुमारी साह, उपमेयर नागेन्द्र यादव, प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, नौ वटै वडाका अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, महोत्सव सफल बनाउन बिभिन्न जिम्मेवारी लिएका दर्जनौं मानिसका साथै दर्जन बढी पत्रकारहरुको सहभागिता रहेको थियो।
समीक्षा बैठकमा मधानी महोत्सव २०८० को अवसरमा ७ लाख भन्दा बढी मानिसले अवलोकन गरेको अनुमान गरिएको थियो। नगरपालिका द्वारा पाँचौं पटक आयोजित मधानी महोत्सव बिगतको भन्दा निकै फरक र महत्वपूर्ण भएको चर्चा चलेको थियो। यस अघिको महोत्सवमा सांस्कृतिक पक्षलाई बढी महत्व दिइएको थियो भने यस पटक धार्मिक पक्षलाई बिशेष महत्वका साथ हेरिएको थियो। बिगतमा भोजपुरी फिल्म अथवा नेपाली फिल्मका नायक नायिका आउने मौलापुर मधानी महोत्सवमा यस पटक बलिउड अभिनेता गोबिन्दा आहुजा आउनुले छुट्टै महत्व रहेको थियो। त्यस्तै आआफ्नो प्रस्तुती दिन आउने अभिनेता गोबिन्दा संगै सम्पूर्ण नायक नायिका तथा कलाकारहरुले सब भन्दा पहिले पुरातात्विक महादेव मन्दिरमा पूजा दर्शन गर्नुले पनि अन्तर्राषट्रियस्तरमा ख्याती पाएको समीक्षा बैठकमा चर्चा चलेको थियो।
विगतको तुलनामा महोत्सव यस पटक सानदार ढंगले सम्पन्न भएको छ।धार्मिक सांस्कृतिक कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न छ भने खासकुरा यस पटक महोत्सव लाई नेपाली राष्ट्रिय मीडिया र भारतीय मिडियाहरुले बिशेष स्थान दिएको थियो।, यस पटक महोत्सव महायज्ञको रुपमा देखियो, धार्मिक अनुष्ठानको रूपमा स्थापित, देश विदेशका मानिसले पुरातात्विक महादेव मन्दिर लाई नजिक बाट हेर्ने र चिन्ने मौका पाए, चुस्त व्यवस्थापन, सुरक्षा ब्यवस्था राम्रो भएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले १० बुन्दे प्रतिबेदन प्रस्तुत गरेका थिए।
उक्त अवसरमा न्युज कारखानाका सञ्जय मिश्रा, पत्रकार प्रभात कुमार झा, ओम प्रकाश यादव,राजु श्रीवास्तव लगायत दर्जन बढी पत्रकारहरुका साथै मधानी महोत्सव सफल बनाउन योगदान दिएका दर्जनाैं मानिसलाई मेयर रिना कुमारी साहले टिका लगाएर खादा ओढाई सम्मान गरेकी थिइन् ।
पाँच दिवसीय महोत्सवमा बलिउड अभिनेता गोविन्दा आहुजा, नेपाली नायक पल साह लगायत दर्जनौ कलाकारहरुले आआफ्नो प्रस्तुती दिएका थिए। महोत्सवकै अवसरमा आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा भारतकी गोल्ड मेडलिस्ट भारतीय महिला कुस्ती खेलाडी बबिता फोगटको समेत उपस्थिती रहेको थियो।
मौलापुर ५ पतौरामा अवस्थित हजारौँ वर्ष पुरानो पुरातात्त्विक महादेव मन्दिर एक विरासतपूर्ण सम्पदा भएको मेयर रिना कुमारी साहले बताउँदै आएकी छन।
सोही मन्दिरमा मन्त्रोच्चारण बिना स्थानीय आदिवासी थारुको नेतृत्वमा रहेका कमरधुवा (बोलबम) समुहद्वारा मौलिक यज्ञ वैदिककाल पूर्वको मधानी महायज्ञ गरिएको थियो।
भगवान शिवको बरात यात्राबाट सुरु भई जल, जमिन र बसहाको पूजन सहित शुभारम्भ भएको यज्ञमा शिव विवाह लिला समेत प्रदर्शन गरिएको थियो। गत फाल्गुन २२ र २३ गते, मधानी यज्ञ तथा शिवको बरात २३ गते, भारतको शिव लिला प्रदर्शन, फाल्गुन २३ र २४ गते, मधानी सांस्कृतिक समारोह फाल्गुन २५ गते अन्तर्राष्ट्रिय दंगल कुस्ती प्रतियोगिता र फाल्गुन २६ सम्म मधानी महोत्सवमा चलेको थियो।
मौलापुर पतौरा स्थित जनिम उत्खनन बाट निस्किएको पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदा सूचिमा सुचीकृत गराउने र मधानी महायज्ञलाई अंतर्राष्ट्रीय सतरमा पुर्याउने संकल्पका साथ मौलापुर नगरपालिकाले २०७६ सालदेखि मधानी महोत्सवको आयोजना गर्दैआएको छ।
पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहको सल्लाह अनुसार उनकी श्रीमती मौलापुर नगर प्रमुख रिना कुमारी साहले बर्षेनी मधानी महोत्सवको आयोजना गर्दै आएकी छन्।










