‘लाउड’ अभिनयबारे सौगात भन्छन्, ‘कथामा गुदी हुनुपर्‍यो नि !’

कोल्हवी न्यूज
२०८० फाल्गुन १२, शनिबार ०७:३५ गते

नाटकबाट फिल्ममा आएका कलाकारहरुले ‘लाउड’ अभिनय गर्छन् भन्ने भाष्य निर्माण भएको छ । केही हदसम्म यसमा सत्यता छ । अभिनेता सौगात मल्लकै कुरा गर्ने हो भने प्रायः फिल्ममा उनी ‘लाउड’ नै सुनिन्छन् । यसैले उनको अक्सर आलोचना हुने गर्छ । पछिल्लो फिल्म ‘हात्तीछाप’मा पनि उनको ‘लाउड’ अभिनय थियो । यसलाई उनी फिल्मको कथा र निर्देशकको कमजोरी मान्छन् ।

बिहीबार एक भेटमा उनले भने- ‘जब कथामै केही हुन्न, तब कलाकार ‘लाउड’ हुनु स्वभाविक हो । कथामा गुदी छ भने कलाकारले केही गर्नै पर्दैन । जब फिल्ममै केही छैन भने पानीमा डुब्न लागेको मान्छेले आफूलाई बचाउन जसरी प्रयास गर्छ, कलाकारले पनि त्यही गर्ने हो ।’ नाटकमा १५ वर्ष बढी काम गरेकाले आफ्नो अभिनयमा त्यसको प्रभाव परेको हुनसक्ने पनि उनी स्वीकार गर्छन् ।

फिल्ममा के चाहिएको हो भन्ने कुरा स्पष्ट नहुँदा अभिनय ‘लाउड’ हुने उनको बुझाई छ । आफू अगाडिको कलाकार कस्तो छ भन्ने कुराले पनि त्यसमा फरक पार्ने तर्क गर्दै उनी थप्छन्, ‘अर्को कलाकारको धेरै मुभमेन्ट छ भने म धेरै मुभमेन्ट गर्दिनँ । जस्तै ‘भष्मे डन’मा विपिनको मुभमेन्ट बढी थियो । त्यहाँ मैले कराएर केही हुँदैन थियो । त्यसैले आफू अगाडिको कलाकारमा पनि भर पर्छ ।’

उनी ‘हात्तीछाप’मा आफ्नो अभिनय धेरै ‘लाउड’ थियो भन्ने निर्धक्क स्वीकार्छन् । यसको कारण पनि छ, उनीसँग । दयाहाङ राईको क्यारेक्टर ‘स्लो’ भएकाले आफू चर्को सुनिएको हुनसक्ने उनको अनुभव छ । ‘त्यहाँ म पनि ‘स्लो’ भैदिएको भए फिल्म झनै दबिन्थ्यो । त्यसैले म चर्को सुनिएँ होला । अनि त्यही ‘ओके’ भयो । तर, मलाई अभिनय ‘लाउड’ छ कि ‘स्लो’ भन्ने थाहा हुँदैन,’ उनी सुनिए ।

आफू एउटा कलाकार मात्र भएको बताउँदै सौगातले आफूबाट निर्देशकले काम निकाल्न सक्नुपर्ने तर्क राख्छन् । उनी भन्छन्, ‘म एउटा कलाकार मात्र हुँ । मबाट जे चीज चाहिएको हो, मैले त्यही दिने हो । निर्देशकले मैले यस्तो सोचेको हुँ भनेपछि मैले त्यसैलाई उतार्छु । जब कसैले केही नै भन्दैन भने आफ्नै दिमागबाट गरिन्छ । निर्देशकलाई मबाट के चाहिन्छ भन्ने कुरा चाहिँ थाहा हुनुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*