सन्तोष सेनले घोषणा गरे ‘बलिदान’, अर्को दशैंको फूलपातीमा रिलिज हुने

कोल्हवी न्यूज
२०८० कार्तिक ४, शनिबार १५:४२ गते

‘प्रेमगीत’ फेम्ड निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो मेगा प्रोजेक्ट ‘बलिदान’को निर्माण घोषणा गरेका छन् । फूलपातीको अवसर पारेर फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरिएको छ । आगामी वर्ष (२०८१)को दशैंको फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टरले साउथ फिल्मको झल्को दिन्छ । फिल्म एक्सन प्रधान हुने पोस्टरले संकेत गर्छ ।

फिल्मको निर्देशन सन्तोष आफैंले गर्दैछन् । आसुसेन फिल्म्सको ब्यानरमा सेन स्वयं प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्मातामा चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने फिल्मको स्क्रिप्ट डक्टरको रूपमा मनोज पण्डित छन् ।

राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्गबीच हुने अधिकारका द्वन्द्व तथा राजनीतिक, सामाजिक द्वन्द्व, विभिन्न आन्दोलनहरूका उत्पत्ति, कारण र परिणामको कथामा फिल्म निर्माण हुने निर्देशक सेनले जानकारी दिए । उनले यो फिल्मलाई एक सार्वभौम महाकथा भनेका छन् ।

फिल्मको विषयवस्तु यथार्थ रहेको तर स्थान तथा पात्र काल्पनिक रहने बताउँदै उनी भन्छन्, ‘मधेस मुद्दालगायत सबैतिर देखिने राज्य पीडितका मुद्दालाई सशक्त रूपमा उठाउने र नेपाली राजनीतिको सूक्ष्म अवलोकन गरी नेपालमा सधैँ अस्थिरता फैलाइरहने कुटिल तत्त्वको पहिचान गरी त्यस्ता तत्त्वदेखि सचेत भएर जुनसुकै तरिकाले बली चढाउनुपर्ने सन्देश फिल्मले दिनेछ ।’ तिहारलगत्तै छायांकन सुरु हुने फिल्मका लागि कलाकारहरु भने निश्चित भैसकेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*