तीन करोडभन्दा बढी ठगेर रंगेलीका सुन व्यवसायी फरार !

कोल्हवी न्यूज
२०८० श्रावण १२, शुक्रबार ०८:३९

 सर्वसाधरणलाई महँगो ब्याजको प्रलोभन देखाएर बचत संकलन गरेका मोरङ, रंगेलीका सुन व्यापारी पवन कुमार सोनी परिवारसहित फरार भएका छन् । सोनी साउन ६ गते शनिबार रातिदेखि उनका बुबा, दुई जना छोराछोरी र श्रीमतीसहित फरार भएको प्रहरीले जनाएको छ ।

सोनीले सर्वसाधरणलाई महँगोमा ब्याज दिने भन्दै रकम संकलन गरेका थिए । उनले थुप्रै गरगहना पनि सर्वसाधारणबाट धितो राखेका थिए । ठगीको यकिन विवरण नआए पनि तीन करोड रुपैयाँभन्दा बढी ठगी भएको प्रहरीले जनाएको छ ।

‘रंगेली बजारभरिको ठगीको रकम हिसाब गर्दामात्रै ३४ जनाको २ करोड ६५ लाख ८४ हजार रकम पुगेको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘अन्य प्रमाण पनि आउने क्रम जारी छ । ३ करोडभन्दा बढी ठगी भएको अनुमान गर्न सकिन्छ ।’

व्यवसायी सोनीले बैंक र सहकारीबाट पनि ऋण लिएको सुनेको प्रहरीको भनाइ छ । ‘गत ६ गते शनिबार रातिदेखि पसल बन्द छ । दाजुभाइलाई सोध्दा हामीलाई पनि जानकारी छैन भनेका छन् । फरार नै होला,’ प्रहरीले भन्यो, ‘घटनाक्रम हेर्दा फरार नै हो जस्तो पनि देखिन्छ ।’

राम्रो ब्याज दिन्छु भनेपछि मानिसले रकम बचत गरेको र बचत फिर्ता नगरी सोनी फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए । ‘महँगोमा ब्याज दिन्छु भनेर पैसा संकलन गरेर भागेको पाइएको छ,’ दाहालले भने, ‘फरारको खोजी र घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।’

रंगेली नगरपालिका वडा नं ७ स्थित मुख्य बजारमा सोनीले ओम शान्ति ज्वेलर्स सञ्चालन गरिरहेका थिए । सोनी परिवार रंगेलीका पुराना सुन व्यवसायी हुन् । त्यही विश्वासले सर्वसाधारणले करोडौं मूल्य बराबरको सुनचाँदी र नगद जम्मा गरेका थिए ।

सोनी फरार भएपछि गरगहना राख्ने र ब्याजमा रकम लगाउनेहरु बिचल्लीमा परेमा छन् । पीडितले इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी पनि दिएका छन् । स्थानीय रंजित यादवले आफूलाई सोनीले विभिन्न मितिमा दिएको चेक साट्न जाँदा बैंकमा ‘बाउन्स’ भएको बताए । ‘पैसा मौज्दात नभएको बैंक खाताको चेक दिएका रहेछन्,’ उनले भने ।

Cheque

प्रहरीका अनुसार सोनीले पथरी, उर्लाबारी, रंगेली र सुनवर्षी नगरपालिकाका धेरै स्थानीयको सुनचाँदीका गरगहना धरौटीमा राखेको पाइएको छ । रंगेली–७ का अजय रायले आफूले दिएको २१ लाख रुपैयाँ सोनीले फिर्ता नगरेको बताए । तमसुक बनाएर पैसा दिएको भए पनि सोनी बेपत्ता भएपछि उनलाई चिन्ता थपिएको छ ।

रंगेलीकै दुर्गा मन्दिर पछाडि आफ्नै घरमा सोनी परिवार बस्दै आएका थिए । प्रहरीले भने अदालतले हेर्ने कुरा अदालतबाट र ठगीको विषयमा प्रहरीले एकमुष्ट प्रमाण संकलन गरेर जाहेरी दिने तयारी गरेको जनाएको छ । यस्तै चेक बाउन्सबारे बैंकिङ कसुर अनुसार मुद्दा चलाउने सल्लाह भएको प्रहरीले जनाएको छ । सोनीका दाजुभाइ रंगेली र कर्सियामै सुन पसल चलाएर बसेका छन् ।

सोनीले आफ्नो घर पनि लुम्बिनी बिकास बैंक धितोमा राखेर करोडौं रुपैयाँसम्म ऋण लिएको र केही महिनादेखि ब्याजसमेत नतिरेको पाइएको छ । बैंककै नाममा रहेको घर जग्गा कानुनी प्रक्रियाअनुसार लिलामी गर्ने बैंकले तयारी गरेको छ । डीएसपी दाहालले भने, ‘रंगेलीका अन्य बैंक तथा वित्तीय संस्थाबाट समेत सोनीले ऋण लिएको हुनसक्ने देखिन्छ ।’

Rakamt tamasuk

रातोपाटीबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*