रौतहटमा एक पुरुषको घरमै हत्या
धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा रौतहटमा एक पुरुषको शव फेला परेको छ।
जिल्लाको देवाहीगोनाही नगरपालिका–६ कर्कच कर्मैया टोल बस्ने ३५ वर्षीय जगरनाथ साह कानुको शव धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा फेला परेको रौतहटका प्रहरी उपरीक्षक एसपी वीरबहादुर बुढा मगरले जानकारी दिए।
कानुको शव शुक्रबार बिहान आफ्नै घरमा साढे तीन बजे भेटिएको एसपी मगरले बताए। साहको घाँटीमा धारिलो हतियार प्रहार गरिएको देखिएको उनको भनाइ छ।
घटनाको सम्बन्धमा सोधपुछको लागि कानुकी श्रीमतीलाई नियन्त्रणमा लिइएको उनले बताए। ‘बिहान आफ्नै घरमा शव भेटिएको हो। घाँटीमा धारिलो हतियार प्रहार गरिएको जस्तो देखिन्छ,’ उनले भने,’सोधपुछको लागि मृतककी श्रीमतीलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेका छौँ।’
कानुको हत्या भएको हो कि होइन भन्नेबारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।देशसञ्चारबाट