दाङमा किशोर–किशोरीको हत्या प्रकरण : ४ जना पक्राउ

कोल्हवी न्यूज
२०७९ कार्तिक २०, आईतवार १२:२८

दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा असोज ३० मा किशोर र किशोरीको शव भेटिएको थियो । सो हत्यामा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न ४ जनालाई पक्राउ गरिएको दाङका एसपी वीरबहादुर ओलीले रातोपाटीलाई बताए । एसपी ओलीले भने– ‘४ जनालाई पक्राउ गरेका छौं, आज सार्वजनिक गर्छौं ।’

तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत अवस्थामा भेटिएका थिए । उनीहरूलाई अन्यत्र हत्या गरेर जंगलमा लगेर पुरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पक्राउ परेका आरोपीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

मृतक दुवै जनाको टाउकोमा चोट देखिएको छ । घटना अनुसन्धानको क्रममा प्रहरीले दमार गाउँको जंगलबाट दुईथान मोबाइल बरामद गरेको छ । घटनास्थलबाट केही पर रगत लागेको चप्पल पनि भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए ।

दाङमा चल्ने बसमा काम गर्ने एकजना किशोर र मृतक किशोरीसँग परिचित युवकलाई प्रहरीले निगरानीमा राखेर अनुसन्धान गरिरहेको थियो । ती युवकले मृतक किशोरीको सिमकार्ड लगेर चलाएको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले बताए । मृतक असोज २७ बाट हराएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*