कर्जाको ब्याजदर १८ प्रतिशत माथि
अहिले नै कर्जाको ब्याजदर महँगो भइरहेको र यसले औद्योगिक उत्पादन ४० देखि ५० प्रतिशतमा सीमित भइरहेको व्यवसायीहरूले गुनासा गरिरहँदा कात्तिकमा कर्जाको ब्याजदर १८ प्रतिशतमाथि पुग्ने देखिएको छ।
सोमबार कात्तिकका लागि ब्याजदर प्रकाशित गरेका बैंकहरूले आधार दरमा थप तीनदेखि आठ प्रतिशतसम्म प्रिमियम तोकेका छन्। बैंकहरूको आधार दर पनि बढ्ने निश्चित देखिएको छ।
बैंकहरूले असोजबाट निक्षेपको ब्याजदर बढाएकाले लागतमा हुने वृद्धिसँगै आधार दर पनि बढ्ने देखिएको हो। बैंकहरूले असोजमा कायम भएको आधार दर केही दिनमा सार्वजनिक गर्ने भएका छन्। तर, कतिपय बैंकहरूको साउन र भदौ दुई महिनाको औसत आधार दर नै १० प्रतिशतमाथि पुगिसकेको छ।
आधार दर १० प्रतिशतमाथि रहेपनि प्रिमियम कम रहेकाहरूको अधिकतम ब्याजदर १६ देखि १७ प्रतिशतमा सीमित रहेपनि अन्यको १७ प्रतिशतदेखि १८ प्रतिशत माथिसम्म पुगेको हो।
सिभिल बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे, सेञ्चुरी कमर्सियल, प्राइम कमर्सियल लगायतका बैंकको ब्याजदर १७ प्रतिशतदेखि १८ प्रतिशत माथिसम्म छ।
असोजको आधार दर समायोजन पछि नयाँ/पुराना सबै कर्जाको ब्याजदर बढ्ने देखिएको छ। राष्ट्र बैंकले एक त्रैमासको औसत आधार दर निकालेर मात्रै बैंक तथा वित्तीय संस्थाहरुले पुरानो लगानीमै रहेको कर्जाको ब्याजदर बढाउन पाउने व्यवस्था छ। नयाँ कर्जाको ब्याजदरको लागि भने मासिक रूपमा कायम हुने आधार दर लिन सकिन्छ।सेतोपाटीबाट साभार










