निजगढ विमानस्थल निर्माणक्षेत्रको निरीक्षणमा पुगे खानेपानी मन्त्री उमाकान्त सहित प्रधानमन्त्रीको टोलि
कोल्हवी:सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुले बाराको निजगढस्थित ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल’को निरीक्षणमा पुगेका छन् । शनिबार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत शीर्ष नेताहरू निजगढ ओर्लिएका हुन् ।
उनिहरुलाई स्वागत गर्न कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरी लगाएतको टोलि पनि पुगेको थियो। प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत विभिन्न विभागीय मन्त्रीहरू पनि निजगढ पुगेका छन् ।
भ्रमण टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव र खानेपानी मन्त्री उमाकान्त चौधरी पनि रहेका छन् । शीर्ष नेताहरूलाई विमानस्थल निर्माण आयोजनाका प्रमुख विजय यादवले ब्रिफिङ गरेका छन् ।
त्यसअघि शीर्ष नेताले विमानस्थल निर्माण क्षेत्रको हवाई निरीक्षण गरेका थिए ।वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा गएका हुन् ।साभार: ईकान्तिपुर










