आन्तरिक रेमिट्यान्स दैनिक २५ हजार मात्र

कोल्हवी न्यूज
२०७८ फाल्गुन १९, बिहीबार ०८:१५ गते

अब मुलुकभित्रै आन्तरिक रूपमा पठाइने रेमिट्यान्सको सीमा २५ हजार रुपैयाँमा सीमित भएको छ । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै रेमिट कम्पनीका एजेन्ट तथा सबएजेन्टमार्फत पठाइने रेमिटको सीमा घटाएको हो । यसअघि एक दिनमा एक व्यक्तिले एउटा कारोबारमा एक लाख रुपैयाँसम्म रेमिट्यान्स रकम पठाउने व्यवस्था रहेको थियो । विदेशबाट रेमिट्यान्स ल्याउने मुख्य काम रहेका कम्पनी मुलुकभित्रै रुमलिएका कारण सीमा घटाइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए ।

‘रेमिट कम्पनीको मुख्य काम विदेशबाट रेमिट ल्याउने हो,’ उनले भने, ‘तर, अहिले यी कम्पनी मुलुकभित्रै रुमलिए कि भन्ने आधारमा पनि यो सीमा घटाइएको हो ।’ हाल बैंकहरूको सेवा गाउँगाउँ पुगेको र एनी बैंक ब्रान्चिङ सिस्टममार्फत बैंकको जुनै शाखाबाट रकम पाउने व्यवस्था भएकाले पनि यसलाई निरुत्साहित गरिएको उनको भनाइ छ ।

राष्ट्र बैंक स्रोतका अनुसार हुन्डीबाट हुने रेमिट्यान्सको भुक्तानी रोक्न पनि यो व्यवस्था ल्याइएको हो । विदेशबाट रेमिट्यान्सको रूपमा आउने विदेशी मुद्रा अन्य कामका लागि उतै प्रयोग भए पनि नेपालभित्रका रेमिट कम्पनीमार्फत यहाँ नेपाली मुद्रामा भुक्तानी हुने गरेको आशंकामा पनि यस्तो सीमा घटाइएको हो । ‘यो व्यवस्थाले हालको जसरी एक लाख रुपैयाँ पठाउन पनि चार दिन कुर्नुपर्ने अवस्था हुन्छ,’ स्रोतले भने, ‘पैसा पठाउँदा लाग्ने लागत पनि बढ्ने भएकाले हुन्डीको रूपमा प्रयोग हुने कामलाई निरुत्साहित गर्छ कि भन्ने हो ।’

पछिल्लो समय रेमिट्यान्सको रूपमा भित्रिने रकम मुलुकबाहिरै विभिन्न लगानी उपकरण ९क्रिप्टोकरेन्सी कारोबार०मा खर्च भइरहेकाले मुलुकमा विदेशी मुद्रा कम भित्रिरहेको आशंका राष्ट्र बैंकले गरेको छ । चालू आवको ६ महिनामा मुलुक भित्रिने रेमिट्यान्स रकममा ५ दशमलव ५ प्रतिशतले घटेर चार खर्ब ६८ अर्बमा सीमित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*