वीरगञ्जबाट पक्राउ परे ईसेवामार्फत ठगी गर्ने २ युवक
ईसेवामा बोनस रकम प्राप्त हुन्छ भनी ठगी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
ईसेवामा ५० हजार रकम जम्मा गरे २ हजार ५ सय बोनस प्राप्त हुने र आफु ईसेवाको कर्मचारी बोलेको भन्दै ठगी गरेका २ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ स्थायी घर भई हाल वीरगञ्ज बस्ने शुभम साह र बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० घर भई हाल वीरगञ्ज बस्ने सर्फराज आलम रहेका छन् । ईसेवा आईडीको ओटिपी कोड प्राप्त गरेर बैंक खातामा पहुँच बनाई ७ लाख २७ हजार ३ सय ४८ रुपैयाँ ठगि गरेको महाशाखामा उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानको क्रममा ठगी गरिएको रकमले टिकटकमा बिक्रिका लागि राखिएको १ लाख ९० हजार रुपैयाँमा आईफोन १३ प्रो म्याक्स किन्ने सहमति गरेर मोवाईल वीरगञ्जबाट पाउने गरी रकम पठाउन लगाइएको खुलेको छ । ठगीको रकम अन्य व्यक्तीहरुको खातामा पनि विभिन्न सामाग्री खरिदका लागि पठाइएको पाइएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।