विश्वकप छनोट : नेपाल र क्यानडा भिड्दै, सेमिफाइनल पुग्ने चारवटै टोलीको आज टुंगो लाग्ने

कोल्हवी न्यूज
२०७८ फाल्गुन ९, सोमबार ०८:५३ गते

अस्ट्रेलियामा हुने टी २० विश्वकप छनोट ‘ए’ मा नेपालले आज क्यानडाको सामना गर्दैछ। अलअमेरत क्रिकेट स्टेडियममा हुन समूह बी को खेलमा नेपाल र क्यानडा दिउँसो पौने ४ बजे आमनेसामने हुनेछन्।

समूह बी मा अपराजित नेपाल दुई खेलबाट ४ अंक जोड्दै सेमिफाइनल प्रवेशको सबैभन्दा धेरै सम्भावना बोकेको टोली हो। नेपालले पहिलो खेलमा ओमनलाई र दोस्रो खेलमा फिलिपिन्सलाई हराएको थियो। दोस्रो र तेस्रो स्थानमा रहेका क्यानडा र ओमनले दुई खेलमा १ जित र १ हार ब्यहोर्दै समान २ अंक जोडेका छन्। क्यानडाले फिलिपिन्समाथि जित र ओमनसँग पराजय ब्यहोरेको थियो भने ओमनले क्यानडामाथि जित र नेपालसँग पराजय ब्यहोरेको थियो। त्यस्तै तालिकाको पुछारमा रहेको टोली फिलिपिन्सले दुबै खेल९नेपाल र क्यानडासँग० पराजय ब्यहोरेको छ।

सेमिफाइनल प्रवेशका लागि नेपाललाई सानो जित पनि पर्याप्त हुनेछ भने पराजित भएको खण्डमा पनि सेमिफाइनल प्रवेशको समीकरण भने रहनेछ। क्यानडालाई सेमिफाइनलमा प्रवेशका लागि आजको खेलमा ठूलो अन्तरले जित आवश्यक पर्नेछ भने ओमनलाई आफ्नो जितसहित नेपालको पनि जित आवश्यक पर्नेछ। आजै हुने अर्को खेलमा ओमन र फिलिपिन्स पनि भिड्नेछन्। खेल दिउँसो पौने ४ बजे नै सुरु हुनेछ। समूहको शीर्ष दुई टोलीले अर्को समूहका शीर्ष दुई टोलीसँग सेमिफाइनल खेल्नेछन्। र, त्यहाँबाट फाइनल प्रवेश गर्ने टोलीले अस्ट्रेलियामा हुने टी २० विश्वकप खेल्नेछन्।

त्यस्तै समूह ए मा ४ अंक जोडेको यूएई सबैभन्दा अगाडि छ भने बहराइन र आयरल्याण्ड समान २ अंक जोडेर सेमिफाइनलको होडमा छन्। दुबै खेल गुमाएको जर्मनी भने अंकविहीन छ। आज हुने खेलमा जर्मनी र आयरल्याण्ड तथा बहराइन र यूएई भिड्नेछन्। दुबै खेल पौने १२ बजे सुरु हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*