एमसीसीबारे निर्णय लिन सत्ता गठबन्धन आज पनि छलफल गर्दै, दिउँसो प्रतिनिधिसभा बैठक

अमेरिकी सहायता परियोजना एमसीसीसँगको सम्झौताबारे निर्णय लिन आज पनि सत्ता साझेदार दलको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बैठक बस्ने भएको हो। यसअघि शुक्रबार बसेको बैठकमा सहमति नजुटेपछि आइतबारका लागि बैठक सारिएको थियो।
गठबन्धन दलबीच सहमति नबन्दा पटक पटक बसेका बैठक निष्कर्षविहीन बन्दै आएका छन्। हिजो बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले एमसीसीसँगको सम्झौतालाई नरोक्ने र प्रतिनिधिसभामा पेस गर्न दिने भनेको छ। तर उक्त दलभित्रै मतभेद देखिएको छ। बैठकको औपचारिक निर्णयमाथि महासचिव बेदुराम भुसाल र उपमहासचिव जगन्नाथ खतिवडाले फरकफरक विज्ञप्ति जारी गरेका छन्।
यता, कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबुल गर्ने जनाएको छ। बैठक दिउँसो १ बजे बस्न लागेको हो। बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन्।अमेरिकाले एमसीसी अनुमोदनका लागि फागुन १६ सम्मको समयसीमा दिएकाले सरकार दबाबमा छ।










