‘म यस्तो गीत गाउँछु २’ गीतमा पल र पूजाको प्रेम

कोल्हवी न्यूज
२०७८ फाल्गुन २, सोमबार ०८:१६ गते

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘म यस्तो गीत गाउँछु’ को चर्चित गीत ‘आफ्नै सम्झि परेली छुन्छौ भने तिमी’ को हुक लाइन समावेश गरेर तयार गरिएको गीतमा गायक सुरेश लामा र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ । गीतको अडियो एक मिनेट ३२ सेकेण्डको मात्र छ ।

‘भ्यालेनटाइन डे’ को उपहार स्वरुप सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य नायक पल शाह र नायिका पूजा शर्मा फिचर छन् । छायांकन पक्ष उम्दा रहेको भिडियोमा मेकिङ क्वालिटी उच्च देखिन्छ । कलाकारको पहिरन र सेटअपले भिडियोलाई थप आकर्षक बनाएको छ । भिडियोमा सुदर्शन, पूजा र पलले फिल्म फागुन १३ गते रिलिज हुन लागेको जानकारी दिएका छन् ।

सुदर्शन थापा र पूजा शर्माले मिलेर निर्माण गरेको फिल्ममा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतको पनि अभिनय रहेको छ । फिल्मको कथा निर्देशक थापा आफैंले लेखेका हुन् भने शिवम् अधिकारी र दिनेश न्यौपानेले पटकथा तयार पारेका हुन् । सौरभ लामाको छायांकन रहेको फिल्मको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, रेनेश भागोको कलर, शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर, सत्यम राना र दिनेश के।पीको भिएफएक्स रहेको फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जिजिए ग्रुपले काठमाडौंभित्र र एफडि कम्पनीले काठमाडौंबाहिर वितरण गर्दैछ । कोरोना महामारीले गर्दा पटक(पटक प्रदर्शन मिति सर्दै आएको ‘म यस्तो गीत गाउँछु २’ लाई लिएर दर्शकमा छुट्टै उत्साह छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*