भदौसम्म सरकारको राजस्व १ खर्ब ८३ अर्ब, गत वर्षभन्दा २५ अर्ब बढी
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
भदौ मसान्तसम्म सरकारले १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व उठाएको हो। गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। यस वर्षको संकलन गत वर्षभन्दा २५ अर्ब ६७ करोड रुपैयाँ बढी हो।
चालु आर्थिक वर्षमा सरकारले १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। भदौसम्मको संकलन वार्षिक लक्ष्यको ११.५९ प्रतिशत हो।
कुल संकलित राजस्वमध्ये १ खर्ब ७२ अर्ब ४३ करोड रुपैयाँ करबाट र १० अर्ब ७८ करोड रुपैयाँ गैरकरबाट प्राप्त भएको छ।
अनुदान तथा अन्य प्राप्तिसमेत जोड्दा भदौ मसान्तसम्म सरकारको कुल प्राप्ति १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल सरकारी प्राप्ति १ खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ थियो।
यसरी कुल सरकारी प्राप्ति पनि गत वर्षको तुलनामा २४ अर्ब ५९ करोड रुपैयाँले बढेको छ।










