करदाता प्रोत्साहन उपहारको नतिजा सार्वजनिक, दुई जनाले पाए १०–१० लाख

कोल्हवी न्यूज
२०८३ आश्विन १, बिहीबार १६:४२ गते

बारा, १ असोज । आन्तरिक राजस्व विभागले भदौ महिनाका लागि सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ।

विभागले दुई जना ग्राहकलाई जनही १० लाख रुपैयाँको बम्पर उपहार प्रदान गर्ने घोषणा गरेको छ। यस्तै, अन्य ३१ जना ग्राहकले जनही एक लाख रुपैयाँका दरले नगद उपहार पाउने भएका छन्।

विभागले सामान्यतया हरेक १५ दिनमा उपहार कार्यक्रमको नतिजा सार्वजनिक गर्दै आएको थियो। तर देशमा आएको बाढीपहिरोका कारण सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै भदौ महिनाको नतिजा एकैपटक सार्वजनिक गरिएको विभागले जनाएको छ।

विभागका अनुसार कात्यानी पोलिक्लिनिकबाट २०० रुपैयाँको सामान खरिद गरी नियमानुसार बिल लिएका एक ग्राहकले पहिलो बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन्।

त्यस्तै, सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान खरिद गर्ने अर्का ग्राहकले पनि १० लाख रुपैयाँको दोस्रो बम्पर उपहार प्राप्त गरेका छन्।

यसैगरी, कार्यक्रममा सहभागी अन्य ३१ जना ग्राहकलाई जनही एक लाख रुपैयाँका दरले कुल ३१ लाख रुपैयाँ नगद उपहार प्रदान गरिने विभागले जनाएको छ। दुई बम्पर उपहारसमेत जोड्दा यस पटक ३३ जना ग्राहकले कुल ५१ लाख रुपैयाँको नगद उपहार पाउनेछन्।

खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउने उद्देश्यले विभागले करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसले उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्नुका साथै कर प्रणालीमा पारदर्शिता कायम गर्न सहयोग पुग्ने विभागको विश्वास छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*