निजगढका एक होटेलमा दुई ग्राहक कुटपिटबाट घाइते, होटल सञ्चालक पक्राउपछि छुटे

कोल्हवी न्यूज
२०८३ आश्विन १, बिहीबार ११:२९ गते

बारा, १ असोज । बाराको निजगढमा होटलमा खाना खाने क्रममा भएको विवादमा दुई ग्राहक कुटपिटबाट घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका होटल सञ्चालकलाई प्रहरीले सोही राति जिम्मा लगाएर छाडेको छ।

निजगढस्थित एक लाइन होटलका सञ्चालक विनोद घिसिङले मंगलबार राति खाना खान पुगेका दुई ग्राहकलाई कुटपिट गरेको आरोप लागेको छ। कुटपिटबाट पदमकुमार तिमल्सिनाको मुख, नाक तथा अनुहारमा चोट लागेको र अर्का रामु नामले चिनिने चालकको टाउकोमा चोट लागेको पीडित पक्षले जनाएको छ।

घटनाको भोलिपल्ट बुधबार तिमल्सिनाको नामबाट इलाका प्रहरी कार्यालय निजगढमा अभद्र व्यवहारसम्बन्धी निवेदन दर्ता भएको थियो। निवेदनपछि प्रहरीले होटल सञ्चालक घिसिङलाई पक्राउ गरेको थियो।

तर पक्राउ परेको केही घण्टामै स्वास्थ्यमा समस्या देखिएको भन्दै उनलाई जिम्मा लगाएर छाडिएको पीडित पक्षले जनाएको छ। प्रहरीले भने घिसिङको रक्तचाप उच्च भएपछि सरकारी वकिल कार्यालयको सल्लाहअनुसार सम्बन्धित व्यक्तिको जिम्मा लगाएर छाडिएको जनाएको छ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारीले मुद्दा दर्ता भएको पुष्टि गर्दै स्वास्थ्य अवस्था असहज भएपछि जिम्मा लगाएर छाडिएको बताए। उनका अनुसार आवश्यक परे उनलाई जुनसुकै बेला पुनः पक्राउ गरी अनुसन्धान अघि बढाउन सकिन्छ।

पक्राउ परेका घिसिङ एमाले निकट केन्द्रीय सदस्यसमेत रहेको स्रोतले जनाएको छ। पक्राउपछि राजनीतिक तथा होटल व्यवसायी क्षेत्रबाट प्रहरीमाथि दबाब परेको दाबी स्रोतको छ। प्रहरीले भने कुनै राजनीतिक वा बाह्य दबाबका कारण उनलाई छाडिएको पुष्टि गरेको छैन।

घटनामा घाइते भएका दुवै जनाको स्वास्थ्य अवस्था तथा मेडिकल रिपोर्ट, घटनाको वास्तविक कारण र कुटपिटमा संलग्न व्यक्तिमाथि हुने कानुनी कारबाहीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*