बारामा भारतबाट तस्करी गरी ल्याइएका कुखुराका चल्ला र सवारीसाधन बरामद

कोल्हवी न्यूज
२०८३ आश्विन १, बिहीबार १६:४१ गते

बारा, १ असोज । भारतबाट भन्सार छली नेपाल भित्र्याइँदै गरेका कुखुराका चल्लासहित मोटरसाइकल र साइकल बाराबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका अनुसार बिहीबार बिहान सुवर्ण गाउँपालिका–७ चौरहियामा भारतबाट ल्याइएका सात कार्टुन बोइलर कुखुराका चल्ला बरामद गरिएको हो।

बिओपी दक्षिणझिट्कैयाबाट सहायक निरीक्षक शखिचन मोचीको नेतृत्वमा खटिएको चार सदस्यीय मोटरसाइकल गस्ती टोलीलाई देखेपछि चल्ला ल्याउँदै गरेका व्यक्ति भारतीय नम्बर प्लेटको बीआर ०५ ई ९२२९ नम्बरको मोटरसाइकल छाडेर फरार भएका थिए।

प्रहरीले बरामद गरेको सात कार्टुन चल्लाको अनुमानित मूल्य ४५ हजार ५ सय रुपैयाँ र मोटरसाइकलको मूल्य एक लाख रुपैयाँ रहेको जनाएको छ। दुवैको गरी एक लाख ४५ हजार ५ सय रुपैयाँ बराबरको सामान बरामद भएको हो।

यसैगरी, बुधबार बिहान सिम्रौनगढ नगरपालिका–१ पथलवा घाटस्थित सीमाक्षेत्रबाट पनि ठूलो परिमाणमा बोइलर कुखुराका चल्ला बरामद गरिएको छ।

सीमा सुरक्षा गुल्म हेडक्वार्टर पिपरपातीबाट सहायक निरीक्षक जितेन्द्र सिंहको कमाण्डमा खटिएको पाँच सदस्यीय पैदल गस्ती टोलीलाई देखेपछि दुई जना व्यक्तिले भारतबाट दुईवटा साइकलमा ल्याएका १८ कार्टुन चल्ला छाडेर भागेका थिए।

उक्त कार्टुनमा एक हजार ८ सय वटा बोइलर कुखुराका चल्ला रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद चल्लाको मूल्य एक लाख ८० हजार रुपैयाँ र दुईवटा साइकलको मूल्य पाँच हजार रुपैयाँ गरी कुल एक लाख ८५ हजार रुपैयाँ बराबरको सामान रहेको छ।

दुवै स्थानबाट नियन्त्रणमा लिइएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित सशस्त्र प्रहरी युनिटमा बुझाइएको थियो।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीका अनुसार दक्षिणझिट्कैया र पथलवा घाटबाट बरामद गरिएका कुखुराका चल्ला आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*