रौतहट–३ की समानुपातिक सांसद खातुनको निधन
रौतहट । नेकपा एमालेबाट मधेश प्रदेशसभामा समानुपातिक सांसद रहेकी जैनब खातुनको निधन भएको छ।
फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
परिवारका अनुसार बुधबार अचानक रगतमा चिनीको मात्रा बढेपछि उनलाई उपचारका लागि वीरगञ्ज लगिएको थियो। अस्पतालमा उपचार भइरहेकै अवस्थामा उनको निधन भएको छोरा रौजन मियाँले जानकारी दिए।
खातुन रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको समानुपातिकतर्फ मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएकी थिइन्।
उनको निधनको खबरसँगै परिवारजन, आफन्त, शुभेच्छुक तथा स्थानीयवासी शोकमा परेका छन्। स्थानीयवासीले खातुनको निधनले जिल्लालाई अपूरणीय क्षति पुगेको बताएका छन्।










