महोत्तरीको बर्दिबासबाट ८६ किलो गाँजा बरामद
इलाका प्रहरी कार्यालय बर्दिबासले ८६ किलो प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ। चेकजाँचका क्रममा काठमाडौंबाट सिन्धुली हुँदै बर्दिबास तर्फ आउँदै गरेको बोलेरोमा ८६ किलो गाँजा शुक्रबार साँझ बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।
बर्दिबास ३ स्थित इलाका प्रहरी कार्यालयको अगाडी चेकपोस्टमा बा१२च ३९५५ नम्बरको बोलेरोको पछाडिको हुटमा लुकाएर ल्याएको उक्त गाँजा सहित बोलेरो चालकलाई पक्राउ गरेको प्रहरी उपरीक्षक बलिष्टार सिंहले जानकारी दिए।
विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा वीरगन्जबाट खटिएको टिम सहित इलाका प्रहरी कार्यालय बर्दिबासले उक्त गाडी दिनभर निगरानीमा राखेको थियो।
बोलेरो सहित सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका घर भएका ३१ वर्षीय रमेश राणा मगरलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
बोलेरोको हुडमा कालो प्लास्टिकले छोपेर ल्याएको ८ पोका गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। डिजिटल तराजुले तौलिँदा बरामद गरिएको उक्त गाँजा ८६ केजी ३६५ ग्राम रहेको प्रहरीले जनाएको छ।