रुसले युक्रेनमा आक्रमण गर्ने खतरा बढेको भन्दै अमेरिकाले युरोप पठायो दुई हजार सेना
युक्रेनमा रुसले आक्रमण गर्नसक्ने सम्भावना निकै बढेको भन्दै अमेरिकाले युरोपको सीमा क्षेत्रमा दुई हजार अतिरिक्त सेना पठाउने निर्णय गरेको छ।
ह्वाइट हाउसलाई उदृत गर्दै बीबीसीले दिएको जानकारी अनुसार यसैहप्ता दुई हजार अमेरिकी सेनाहरु युरोपको सीमा क्षेत्रमा तैनाथ हुनेछन्। नर्थ क्यारोलिना राज्यबाट पोल्यान्ड र पोल्यान्ड हुुँदै सेनाहरु जर्मनी पुग्नेछन्। यस्तै जर्मनीमा पहिल्यैदेखि तैनाथ एक हजार अमेरिकी सेना रोमानिया तैनाथ गरिनेछ।
अमेरिकाले युुक्रेनमा रुसले आक्रमण गर्ने दाबी गरिरहँदा रुसले भने आफूले युक्रेनमा हमला नगर्ने दोहोर्याउँदै आएको छ। यद्यपी रुसले एक लाख सेना भने युक्रेनको सीमा नजिक तैनाथ गरेको स्वीकार गरेको छ। आफु्नो देशको सुुरक्षा गर्न सेना तैनाथ गरेको रुसी भनाइ छ। तर अप्रत्याशित रुपमा रुसले सेना र हतियार बढाउनुलाई आक्रमणको तयारीको रुपमा हेरिएको छ।
रुस यो चाहँदैन कि युक्रेन अमेरिकाले नेतृत्व गरेको सैन्य गठबन्धन नेटोमा आवद्ध होस्। रुसले युक्रेनको दक्षिणी हिस्सा क्राइमिया कब्जा गरेको आठ वर्षपछि यो नयाँ संकट देखिएको हो। युुक्रेनको पूर्वी हिस्सामा रुसको समर्थन प्राप्त विद्रोहीहरुको वर्चस्व छ। सन् २०१४ यता त्यहाँ १४ हजारको ज्यान गइसकेको छ।
अमेरिकाका अनुसार अमेरिकी सेना कुनै युद्धमा सामिल हुने छैन तर आइपरेको खण्डमा यी सेनाले युरोपका आफ्ना सहयोगी देशलाई सहयोग पुर्याउनेछ। यसअघि अमेरिकाले युरोपलाई युद्धमा सघाउन आफूले आठ हजार सेना तयारी अवस्थामा राखेको पनि जानकारी दिएको थियो।
सोभियत संघको पतनपछि सन् १९९१ मा युक्रेन रुसबाट अलग भएको थियो। त्यसयता युक्रेनले पश्चिमा राष्ट्रसंग लगातार सम्बन्ध बढाएको छ जुन रुस रुचाउँदैन।










