तेस्रो लिंगी हत्या प्रकरण हेटौंडाः हत्यारालाई जीवित रहेसम्म कैद

कोल्हवी न्यूज
२०७८ माघ २१, शुक्रबार ०७:३४

जिल्ला अदालत मकवानपुरले हत्या मुद्दामा पक्राउ परेकालाई हत्यामा संलग्न जीवित रहेसम्म कैदको फैसला गरेको छ । जिल्ला अदालत मकवानपुरले ४ माघ २०७६ मा तेस्रो लिंगीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई सो फैसला सुनाएको हो ।
मकवानपुर प्रहरीले त्यस दिन बिहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रो लिंगी (नाम परिवर्तन ‘कमलडाँडा एफ’) को हत्यामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको थियो । हत्यामा संलग्न अन्यमध्ये एक जना नाबालकलाई १६ वर्ष कैद, अर्का एक जनालाई चार वर्ष कैद र एक जना महिलालाई एक वर्ष कैदसहित क्षतिपूर्ति र जरिमानाको फैसला सुनाएको छ ।

मकवानपुर जिल्ला अदालतका मुख्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठले हत्या गरिएकी तेस्रो लिंगीको परिवारलाई क्षतिपूर्ति भराउनेसमेत फैसला भएको जानकारी दिए । मुख्य न्यायाधीश श्रेष्ठका अनुसार हत्यामा संलग्न रहेका सुशील थापा, बुद्ध लामा र आशिष बललाई जबर्जस्ती करणी, कर्तव्य गरी हत्याको आरोपमा जीवित रहेसम्म कैद, डाँकाको आरोपमा नौ वर्ष कैद र ९० हजार जरिमाना, पीडितको परिवारलाई जनही ३ लाख रुपैयाँको दरले क्षतिपूर्ति भराउने फैसला भएको छ ।

यसैगरी, हत्यामा संलग्न रहेका नाबालक नाम परिवर्तन ‘सिमलटार जेड’लाई १६ वर्ष आठ महिना कैद, डाँकातर्फ नौ वर्ष कैद र ६० हजार जरिमाना तथा पीडितको परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।

अर्का आरोपित सिमोन परियारलाई बलात्कार र हत्यातर्फ चार वर्ष कैद, डाँकातर्फ नौ वर्ष कैद र ९० हजार जरिमाना तथा पीडितको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति र तेस्रो लिंगीको मोबाइल प्रयोग गर्ने डोलमाया तामाङलाई एक वर्ष कैद र १० हजार जरिमाना तोकी फैसला भएको श्रेष्ठले जानकारी दिए । पीडितको परिवारलाई थप ५ लाख रुपैयाँ पीडित राहत कोषबाट क्षतिपूर्ति भराउनेसमेत फैसला भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*