सर्लाहीमा उखु बोकेको ट्रयाक्टरमा रात्री बस ठोक्किँदा २४ जना घाइते, दुईको अवस्था गम्भीर

कोल्हवी न्यूज
२०७८ माघ १४, शुक्रबार १०:४७

सर्लाहीको हरिवनमा उखु बोकेको ट्रयाक्टरमा रात्री बस ठोक्किँदा २४ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

गएराति भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस हरिवन( ९ सुखेपोखरीमा बिग्रिएर रोकी राखेको उखु लोड गरेको ज २ त ७८१ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा दुर्घटना भएको हो। पश्चिमबाट उखु लिएर हरिवनस्थित इन्दु शंकर चिनी उद्योगतर्फ जाँदै गरेको ट्रयाक्टर बिग्रिएपछि बनाउन सडक छेउमा रोकेर राखेको बेला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

‘चालक निदाएको कारण दुर्घटना भएको अनुमान हामीले गरेका छौँ,’ डिएसपी बुढाथोकीले भने, ‘थप अनुसन्धान हुँदैछ।’ घाइतेमध्ये एक पुरुष र एक महिलाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। उनीहरूलाई थप उपचारको लागि वीरगन्ज रिफर गरिएको छ।

अन्य घाइतेको हरिवनमा रहेको नमूना, स्वाभिमान लगायतका अस्पतालमा उपचार भइरहेको छ। बस चालक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रयाक्टर चालक भने फरार छन्। ट्रयाक्टरको पछाडीबाट बसले ठक्कर दिए पनि दुबै सबारी साधन पल्टिएका भने छैनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*