प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न बैंकहरुलाई अर्थमन्त्रीको आग्रह

कोल्हवी न्यूज
२०७८ माघ ११, मंगलवार ०८:५० गते

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले प्राथमिकता तोकेको क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन्। राष्ट्रिय वाणिज्य बैङ्कको ५७औँ वार्षिकोत्सव समारोहलाई सोमबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मन्त्री शर्माले कृषि, पर्यटन, औद्योगिक विकास र विस्तारमा गर्दै आएको लगानीलाई दोब्बर बनाउनुपर्ने बताएका हुन्।

मुलुकलाई आत्मनिर्भर बनाउन वैदेशिक लगानी अभिवृद्धिका लागि नयाँ र समयसापेक्ष कार्यक्रम ल्याउनसमेत मन्त्री शर्माले आग्रह गरे। गरिबी न्यूनीकरणमा बैंकको लगानी केन्द्रित हुनुपर्ने धारणासमेत उनले व्यक्त गरे।

राष्ट्रिय वाणिज्य बैंकले सोमबारदेखि नै सुरु गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ ९यूएसएसडी० सेवाको सुरुवात गर्दै मन्त्री शर्माले यस्तो नयाँ प्रविधिको प्रयोगले ग्रामीण भेगका जनतालाई पनि वित्तीय पहुँचमा ल्याउन सक्ने र छरिएर रहेको पुँजी एकीकृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गरेको यो सेवा इन्टरनेट र जीपीएस सेवा नभएका स्थानका ग्राहक र सामान्य मोबाइल फोनमा पनि सजिलै चलाउन सकिने बैंकले जनाएको छ। यो सेवाबाट ग्राहकले बैङ्क रकम ट्रान्सफर गर्ने, स्टेटमेन्ट हेर्ने, पिन परिवर्तन गर्नेलगायतका सेवा उपभोग गर्न सक्नेछन्।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पहिलो लहरको महामारीपछि पुनरुत्थान हुन खोज्दै गरेको अर्थतन्त्रमा अहिले चाप परेको बताए। बजारमा देखिएको तरलताको व्यवस्थापन गर्न राष्ट्र बैंक लागिरहेको जानकारी दिँदै उनले त्यसका लागि विभिन्न औजार प्रयोगमा ल्याइरहेको बताए। केही विषम परिस्थिति आयो भन्दैमा बैंकहरू आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँदै उनले असहज अवस्थामा राष्ट्र बैंकले सहयोग गर्ने आश्वासन पनि दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*