भारतले दक्षिण अफ्रिकाविरूद्धको वान डे सिरिज पनि गुमायो, घरेलु टोली ७ विकेटले विजयी

कोल्हवी न्यूज
२०७८ माघ ८, शनिबार ०६:१२ गते

भारतलाई ७ विकेटले हराउँदै घरेलु टोली दक्षिण अफ्रिकाले एक दिवसीय सिरिज जितेको छ। हिजो शुक्रबार बोल्यान्ड पार्क पार्लमा भारतले दिएको २८८ रनको लक्ष्य घरेलु टोलीले मात्र ३ विकेट गुमाएर ११ बल बाँकी छँदै पुरा गर्‍यो।

यो सँगै तीन खेलको सिरिज घरेलु टोलीले १ खेल अगावै हात पारेको छ। अफ्रिकाको जितमा जानेमान मालानले सर्वाधिक ९१ रन बनाए। १०८ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरेका थिए। क्विन्टन डिककले ७८ रन बनाउने क्रममा ६६ बल खेल्दै ७ चौका र ३ छक्का प्रहार गरेका थिए।

कप्तान तेम्बा बाभुमाले ३५ रन बनाउँदा एडेन माक्ररम र रास्से भान डेर डुसेन समान ३७ रनमा नटआउट रहे। दक्षिण अफ्रिकाका लागि क्विन्टन डिकक र मालानले पहिलो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए। दोस्रो विकेटका लागि मालानले बाभुमासँग ८० रनको साझेदारी गर्दा चौथो विकेटका लागि डुसेन र एडेन माक्ररमले ७४ रनको साझेदारी गरेका थिए। भारतका लागि जसप्रित बुमराह, युजवेन्द्र चहल र शार्दुल ठाकुरले समान १(१ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनाएको थियो। भारतका लागि विकेटकिपर ऋषभ पन्तले सर्वाधिक ८५ रन बनाएका थिए। उनले ७१ बलमा १० चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै शार्दुल ठाकुर ३८ बलमा ३ चौका र १ छक्कासहित ४० रनमा अविजित रहँदा रविचन्द्रन आश्विनले २५ रनमा अविजित रहे । भारतलाई ओपनर शिखर धवन र लोकेश राहुलले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए। धवनले २९ रन बनाएर आउट हुनुअघि३८ बलमा ५ चौका प्रहार गरेका थिए। विराट कोहली शुन्य रनमा आउट भएका थिए।

कप्तान लोकेश राहुलले ५५ रन बनाउँदा श्रेयस ऐर ११ र वेंकटेश ऐर २२ रनमा आउट भए। दक्षिण अफ्रिका तबरेज शाम्सीले सर्वाधिक २ विकेट लिए। सिसान्दा मगला, एडेन माक्ररम, केशव महाराज र एन्डिले फेहलुकवयोले १–१ विकेट लिए। यो सँगै तीन खेलको एकदिवसीय घरेलु टोली दक्षिण अफ्रिकाले २–० को जित हात पारेको छ। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*