पीएम कप खेलिरहेका खेलाडीमा कोरोना संक्रमण
प्रदेश नम्बर १ का एक जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिता खेलिरहेको प्रदेश १ का खेलाडीलाई कोरोना लागेको आंशकमा शनिबार टेस्ट गरिएको थियो ।
शनिबार राति आएको रिपोर्ट अनुसार १ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नाम भने क्यानले सार्वजनिक गरेको छैन ।
खेलाडीहरु विरामी रहेको भन्दै प्रदेश १ ले क्यानसँग नेपाल पुलिसविरुद्धको शनिबारको खेल रोकिदिन आग्रह गरेको थियो । फलस्वरुप क्यानले शनिबारका लागि तय भएको पहिलो खेल रोक्दै खेलाडीहरुको परीक्षण गराउने निर्णय गरेको थियो ।
अब नेपाल पुलिस र प्रदेश १ बीचको खेल सोमबार टियू मैदानमा हुने छ । प्रतियोगिता अन्तर्गत आइतबार सुदुरपश्चिम र प्रदेश १ तथा लुम्बिनी र गण्डकीबीच प्रतिस्पर्धा हुने छ ।









