२ हजार नेपाली विद्यार्थीलाई क्रमैसँग चीन फर्काउने यस्तो छ तयारी

कोल्हवी न्यूज
२०७८ पुष २७, मंगलवार ०७:३२ गते

चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी कोरोनाको पहिलो लहर सुरु भएसँगै अध्ययन अपुरै छाडेर स्वदेश फर्के। दुई वर्ष बित्दासमेत उनीहरुको चीन फिर्तीबारे कुनै टुंगो लाग्न सकेको छैन। स्वदेश फर्केको दुई वर्षसम्म पनि चीन फर्किने वातावरण बन्न नसकेपछि नेपाली विद्यार्थी निराश देखिएका छन् भने नेपाल सरकार पनि उनीहरुको गुनासो सम्बोधन गर्न नसक्दा दबाबमा परेको छ।

परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित चिनियाँ दूतावास र बेइजिङस्थित नेपाली दूतावास मार्फत चिनियाँ विदेश मन्त्रालयलगायत सरकारी निकायसँग नेपाली विद्यार्थीे फिर्तीका लागि ताकेता गर्दै आएको छ। नेपालमा करिब २ हजार नेपाली विद्यार्थी अड्किएको बताइन्छ।

परराष्ट्रमन्त्री डा। नारायण खड्काले दुई महिनाअघि चिनियाँ राजदूत होउ यान्छीसँग नेपालमा रोकिएका विद्यार्थी फिर्तीका लागि आग्रह गरेका थिए। त्यसबेला राजदूत यान्छीले पहल भइरहेको कूटनीतिक जवाफ दिएकी थिइन्। अध्ययन पुरा गर्न चीन फर्किन नपाएका नेपाली विद्यार्थीले यहाँस्थित चिनियाँ दूतावास तथा परराष्ट्र मन्त्रालय र शिक्षा मन्त्रालयलगायत नेपाल सरकारका विभिन्न निकाय घच्घच्याउँदै आए। तर दुई वर्ष बित्दा पनि उनीहरुको गुनासो सम्बोधन भएको छैन। यसैबीच चीनस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई हालै पठाएको एक प्रतिवेदनमा चीन फर्काउने विद्यार्थीका लागि मापदण्ड बनाउने काम चीनले गरिरहेको सूचना दूतावासले पाएको उल्लेख गरेको छ।

नेपाली दूतावासका वरिष्ठ अधिकारीले बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयका एसिया मामिला विभागका वरिष्ठ अधिकारीसँग हालै गरेको भेटको प्रसंग उल्लेख गर्दै प्रतिवेदनमा जनाइएअनुसार चिनियाँ अधिकारीले नेपाली विद्यार्थीको समस्याको गाम्भीर्य हेरी प्राथमिकता तय गर्ने र उनीहरुलाई क्रमैसँग चीन फर्काइने आश्वासन दिएका छन्। तर कहिले चीन फर्काइन्छ भन्नेबारे स्पस्ट जवाफ दिएका छैनन्।​​

‘कोराना महामारी सुरु हुँदा विद्यार्थीको पढाइ कुन चरणमा थियो, त्यसलाई हेरेर कुन विद्यार्थीलाई अघि र कुन विद्यार्थीलाई पछि चीन फर्काउने भन्ने प्राथमिकता निर्धारण गर्न एउटा मापदण्ड बनाउन लागिएको जानकारी चिनियाँ पक्षले गराएको छ,’ बेइजिङस्थित दूतावासका एक अधिकारीले नेपालखबरसँग भने।

ती अधिकारीका अनुसार कुनै विद्यार्थीको अन्तिम वर्षको मात्र परीक्षा छुटेको छ र उनीहरु चीन फर्किन नपाए डिग्री गुम्ने अवस्था छ भने त्यस्ता विद्यार्थीलाई पहिलो प्राथमिकतामा राख्ने तयारी छ। ‘विद्यार्थीको पढाइको अवस्था हेरी चीन फर्काउन सकिन्छ भन्ने धारणा चिनियाँ पक्षबाट आएको छ। त्यसका लागि अहिले मापदण्ड बनाउँदै गरेको उनीहरुको भनाइ छ,’ दूतावासका ती अधिकारीले भने। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई फर्काउन कूटनीतिक पहल भइरहेको बताइन्।

‘विद्यार्थीहरुका तर्फबाट गुनासो आएको धेरै भयो। यसबारे काठमाडौंस्थित चिनियाँ राजदूतसँग कुराकानी भइसकेको छ। त्यस्तै बेइजिङस्थित नेपाली दूतावासले पनि पहल गरिरहेको छ। अब छिट्टै उनीहरुलाई फर्काउने माहौल बन्छ,’ उनले भनिन्। चिनियाँ अधिकारीले एकैचोटि विदेशबाट लाखौँ विद्यार्थीलाई फर्काउँदा कोरोना संक्रमण दर बढ्न सक्नेप्रति आफूहरु चिन्तित रहेको बताउँदै आएका छन्। तर चीनले दक्षिण कोरिया तथा युरोपका केही मुलुकबाट विद्यार्थीलाई केही समयअघि फर्काएको थियो। केही मुलुकबाट विद्यार्थीलाई फर्काउने तर नेपाललगायतका मुलुकबाट नफर्काउने चीनको नीतिबारे चिनियाँ अधिकारीले स्पष्ट जवाफ नदिएको नेपाली दूतावासका ती अधिकारीले बताए।

नेपाल, पाकिस्तान, बंगलादेश र भारतबाट चीनमा अध्ययनका लागि गई कोरोना महामारीका बीच घर फर्केपछि अध्ययन पुरा गर्न नपाएका विद्यार्थीलाई भने चीन फर्किन दिइएको छैन। भारत, बंगलादेश र पाकिस्तानले पनि यसबारेमा चिनियाँ पक्षसँग बारम्बार कुरा उठाइरहेका छन्।

विशेषगरी चिकित्सा शिक्षाअन्तर्गत एमडी, एमएस, एमडीएस र एमबीबीएससहित विभिन्न संकायका पीएचडी, एमबीए र इन्जिनियरिङका नेपाली विद्यार्थीहरू चीनमा कोरोना संक्रमण बढेपछि सन् २०२० को सुरुमै स्वदेश फर्किका थिए। कोरोना महामारीका बीच चीनको वुहानबाट नेपाली विद्यार्थीलाई सरकारले आफ्नै खर्चमा समेत उद्धार गरेर स्वदेश फर्काएको थियो। चीनले अध्ययन भिसामा आफ्नो मुलुक प्रवेश बन्द गरे पनि दक्षिण कोरिया र युरोपका कतिपय मुलुकका विद्यार्थी ग्रिन च्यानल र फास्ट ट्रयाक भनिने विशेष व्यवस्थाबाट चीन गइरहेको बताइएको छ।

चीन फर्किन नपाएका नेपाली विद्यार्थीले चाहिँ नेपाल सरकारले कूटनीतिक पहलकदमी राम्रोसँग गर्न नसकेका कारण आफूहरु समस्यामा परेको बताउने गरेका छन्। कति विद्यार्थी नेपालमा अलपत्र परेका छन् भन्ने तथ्यांक नेपाल सरकारसँग छैन।

नेपाल फर्किएपछि केही विद्यार्थीले अनलाइन कक्षा लिएको भए पनि उनीहरुले प्रयोगात्मक परीक्षामा सहभागी हुन विश्वविद्यालय नै जानुपर्ने बाध्यता छ। केही महिनाअघि एसोसिएसन अफ नेप्लिज स्टुडेन्ट इन चाइनाले नेपालको स्वास्थ्य मन्त्रालयलाई एक ज्ञापनपत्र बुझाएको थियो।

‘चिकित्साशास्त्र प्रयोगात्मक शिक्षा भएको हुनाले नेपालमा बसेर अनलाइन कक्षा लिएर हाम्रो चिकित्सा शास्त्र डिग्रीलाई नेपाल मेडिकल काउन्सिलले मान्यता दिँदैन,’ ज्ञापनपत्रमा भनिएको थियो। चीनका अलावा अस्ट्रेलिया, दक्षिण कोरिया र जापानमा अध्ययनका लागि जाने प्रक्रियामा रहेका हजारौं विद्यार्थी समेत कोरोना महामारीकै कारण रोकिएका छन्। नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*