विश्वमा प्रविधिको फड्को : वाईफाई खाने रिमोट कन्ट्रोल, रङ बदल्ने कार !

यसैसाता अमेरिकाको लसभेगासमा वार्षिक उपभोक्ता विद्युतिय उपकरण प्रदर्शन अर्थात् कन्जुमर इलेक्ट्रोनिक्स सो (सीईएस) को आयोजना भइरहेको । हरेक वर्ष उपभोक्ता प्रविधि संगठन ९सीटीए ० द्वारा आयोजना हुने गरेको यस कार्यक्रममा यसपालि विश्वभर फैलिरहेको कोरोना महामारीका कारण मेटा, गुगल र अमेजनजस्त ठूला कम्पनीले भाग लिएका छैनन् । तरपनि यस कार्यक्रममा तल उल्लेखितसहित अन्य थुप्रै अदभूत प्रविधिहरू भने अवश्य पनि हेर्न पाइनेछ ।
वाईफाई खाने रिमोट कन्ट्रोल

सधैँजसो सीईएसमा टेलिभिजनहरूले ठूलो प्राथमिकता पाउँदै आएका छन् । हरेक वर्ष प्रदर्शनीमा राखिने टीभीको आकार पनि बढ्ने गरेको छ । तर, यसपटक टीभी चलाउने सानो रिमोट कन्ट्रोलले सबैका ध्यान तान्नेछ । सन् २०२१ को यस रिमोट कन्ट्रोलका पछाडि सामसुङ कम्पनीले सोलार प्यानल जडान गरेको छ । घाम लागेको ठाउँमा कुनै मेच वा टेबुलमा राखिएको यस्तो रिमोट कन्ट्रोल आरामसँग आफैँ चार्ज भइरहन्छ ।
यस नौलो प्रविधिले एएए ब्याट्रीको विश्व बजार भने खत्तमै पार्ने पक्का छ । यसको नयाँ संस्करणमा अझ घाम नलागेकाबेला पनि आफूलाई चार्ज गर्न चालिस मिटर पर सम्मका वाईफाई राउटरबाट निस्कने रेडियो फ्रिक्वेन्सी सिग्नल खानका लागि एउटा सानो एन्टेना जडान गरिएको छ । सामसुङले अब बजारमा आउने नयाँ टीभी र अन्य विद्युतिय उपकरणसँगै सो रिमोट कन्ट्रोल प्रदान गरिने जनाएको छ ।
रङ बदल्ने कार
अब तपाईं आफ्नो कारको रङदेखि वाक्क लाग्न थाल्यो भने चिन्ता छोड्नुहोस् । बीएमडब्ल्यू कार निर्माण कम्पनीले अब जुनसुकैबेला तत्कालै कारको रङ परिवर्तन गर्ने प्रविधिको विकास गरेको छ । बीएमडब्ल्यूको यस कारको बाह्य भाग ई–पेपर जस्तै बनाइएको छ । केही विद्युतीय प्रवाह गर्ना साथै त्यसले रङ र डिजाइन फेर्ने गर्दछ । यसमा प्रयोग गरिएको ‘आईएक्स–फ्लो’ प्रविधि ई–बुकका पाठकहरूका लागि प्रयोग हुने प्रविधि जस्तै हो । कारको बाह्य भागमा लाखौँ संख्यामा स–साना माइक्रोक्याप्सुलहरूबाट बनाइएको छ । यस प्रविधिको वैज्ञानिक फाइदा पनि छ । गर्मी मौसममा हल्का र जाडो मौसममा गाढा रङ प्रयोग गरिँदा कारभित्र कुलिङ वा हिटिङलागि झन्झट गरिरहनुनपर्ने कम्पनीको भनाइ छ । तर अहिलेलाई सेतो, खरानी र कालो गरी तीनवटा रङको मात्रै विकल्प रहेको छ ।
सर्भ गर्ने रोबोट

यसपालिको प्रदर्शनमा टाउकोको बदला दराजको जस्तो तह तह भएको यन्त्रमानव अर्थात रोबोट पनि प्रदर्शनमा राखिएका छन् । तिनीहरूलाई त्यहाँ उपस्थित आगन्तुकहरूलाई सुसी र बर्गर लगायतका खाना सर्भ गर्न वेटरका रूपमा प्रयोग गरिनेछन् । करिब एघार किलोग्राम सम्मको वजन उठाउन सक्ने यसको उचाइँ तल माथि गर्न सकिन्छ । एजेन्सी










