माताको आश्रममा बालिकाको हत्याः ५ दिनअघि लिन जाँदा दिएनन्, मृत्यु भएपछि बेहोस भन्दै खबर आयो

कोल्हवी न्यूज
२०७८ पुष २६, सोमबार ०६:३२

‘तपाईंकी छोरी बेहोस छिन्, छिट्टो आउनु होस्’, राधिका श्रेष्ठलाई ‘माता’ भनिने उमा शाही ठकुरीले फोन गरिन्। उमा झारफुक गर्छिन्। राधिकाले १४ वर्षीया छोरी रोशनीलाई रानीवनस्थित माताको आश्रममा छाडेर आएकी थिइन्। टाउको दुख्ने बिरामी निको पार्न झारफुक गर्ने भन्दै उनले छोरीलाई पुस ३ गते उमाको आश्रममा लगेकी थिइन्।

छोरी बेहोस भन्ने खबर आएपछि राधिकाले काठमाडौंमा भएका भिनाजु दुर्गाबहादुर श्रेष्ठलाई सुनाइन्। दुर्गाबहादुरले जाँदै गर्न भने। आफू पनि जडिबुटीबाट मोटरसाइकलमा बाटो लागे। उनीहरु पुग्दा रोशनी आश्रमभित्रै अचेत थिइन्। शरीरमा कुनै प्रतिक्रिया थिएन। राधिकाले हतार–हतार आफू गएकै ट्याक्सीमा हालेर मनमोहन अस्पताल पुर्याइन् र इमर्जेन्सी कक्षमा भर्ना गरिन्। तर डाक्टरले रोशनीको २÷३ घण्टा पहिले नै मृत्यु भइसकेको जानकारी दिए।

सन्चो पारेर पठाउँछु भनेकी माताको भर पर्दा राधिकाले छोरी गुमाइन्। राधिकाको घर सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका २ हो। उनी १८/२० वर्षदेखि भक्तपुरको मध्यपुरथिमीमा डेरामा बस्छिन्। डेरा टाढा रहेछ भन्दै उमाले छोरीलाई आश्रममै छाडिदिन भनिन्। ‘जसरी पनि ठिक पार्छु, त्यत्रो टाढाबाट धाउनु पर्दैन। म पनि त आमा जस्तै हो नि,’ माताले भनेको कुरा राधिकाले सुनाइन्, ‘मलाई त्यसरी विश्वास दिलाइसकेपछि छोरी छाडेर आएँ।’

केही दिन बिराएर राधिकाले मातालाई फोन गरेर छोरीको स्वास्थ्य बारे सोध्थिन्। रोशनीसँग मोबाइल थिएन। तर, १९ गते आफैं आश्रममा पुगिन्। २० गतेदेखि छोरीको परीक्षा थियो। रोशनी भक्तपुरको गणेश माध्यामिक विद्यालयमा कक्षा ६ मा पढ्थिन्। परीक्षा दिनका लागि छोरी लिएर फर्किने राधिकाको योजना थियो। छोरीले पनि घर फर्किन मन गरेकी थिइन्। ‘जान्छु ममी जाँच दिन्छु भन्थी, माताले जाँच पछि दिनू। अब एकैचोटि ठिक भएर मात्रै फर्किने हो भन्नुभयो,’ राधिकाले भनिन्, ‘त्यसपछि म छोरी नलिई फर्किएँ।’

छोरीलाई आश्रममा छाडेर राधिका काममा जान्थिन्। उनी इँट्टा बोक्ने, बालुवा चाल्ने र गिटी कुट्ने काम गर्छिन्। उनका श्रीमान् यमबहादुर ७ वर्षदेखि मलेसियामा छन्। उनी बीचमा एक पटक छुट्टीमा आएर फेरि उतै गए। ११ वर्षका छोरा र १४ वर्षकी छोरीको रेखदेख राधिकाले नै गर्दै थिइन्। पहिले नेपालमा हुँदा श्रीमान् पनि राधिकासँग निर्माणकै काम गर्थे।

तर, उनले परदेशको बाटो तताए। डेढ वर्ष पहिलेबाट छोरीमा टाउको दुख्ने समस्या देखियो। डेरानजिकै रहेको क्लिनिकमा लगिन्। क्लिनिकले दिएको औषधिले पनि ठिक भएन। बेला बेला रोशनीको टाउको दुखिनै रह्यो। पटक–पटक औषधि खाँदा पनि बिरामीले छाडेन।

आफन्त र छिमेकीले पनि उनलाई डाक्टरकोमा नभएर धामीकोमा लैजान सल्लाह दिए। उनले पनि को छ त राम्रो धामी भनेर सोधीखोजी गर्दै गइन्। त्यही क्रममा रानीवनमा रहेकी उमाको आश्रमबारे थाहा पाइन्। उमाले छोरीको उपचार गरिदिन राधिकासँग २५ सय रुपैयाँ, नागरिकता र तीन वटा पासपोर्ट साइजको फोटो मागिन्। ‘छोरी ठिक भएपछि मेरो छोरीसहित १० जनालाई यो आश्रमकी यी माताले ठिक बनाइदिइन् भनेर प्रचार गर्नु है भनेकी थिइन्,’ राधिका भन्छिन्।

राधिका त्यो सबै कुरामा सहमति जनाएर फर्किएकी थिइन्। ‘१९ गतेसम्म त छोरी ठिकै थिइन्। तर अस्ति शुक्रबार दिउँसो साह्रो कुटेछन्। आश्रमको टहराबाहिर लगेर कुटेको त्यहाँका छिमेकीले पनि देखेका रहेछन्,’ राधिकाले भनिन्, ‘तर मलाई केही थाहा भएन। एकैचोटि बेहोस भएको खबर आयो।’

उनी सम्झिन्छिन्, ‘मेरी छोरीलाई मार्ने नै नियत बनाइसकेका रहेछन्। त्यही भएर जाँच दिन पनि ल्याउन दिएनन्। मेरो छोरी थलै परेकी पनि थिएन। बेला–बेला टाउको दुख्थ्यो। त्यही पनि किन सहने भनेर लगेकी थिएँ।’ अहिले उनलाई आफन्तले नै त्यहाँ किन लगेको भनेर गाली गरिरहेका छन्। तर पहिले धेरैले एक पटक धामीकोमा देखाउन सल्लाह दिएका थिए। कतिले त आफू पनि बिरामी पर्दा झारफुकबाटै सन्चो भएको भन्थे।

‘डाक्टरले पत्तो लगाउन सकेन भनेर लगेको। यस्तो होला भन्ने थाहा भएन। धामीले ठिक गरिदिन्छ भनेकाले विश्वास गरेँ। आश गर्दा फसेँ,’ राधिकाले पछुतो मान्दै सुनाइन्।

प्रहरीले आश्रमकी माता उमासहित तीन जनालाई शनिबार नै पक्राउ गरेको थियो। तर सहयोगी दुई जनालाई सोधपुछपछि आइतबार छाडेको छ। सोधपुछका क्रममा उनीहरुले माताले रोशनीको टाउकोमा हातले हानेको बताएका छन्। आश्रमभित्र झाडु र त्रिशुल मात्रै देखिएको छ।

उमालाई अनुसन्धानका लागि ५ दिन थुनामा राख्न अनुमति दिएको छ। उनी स्वयम्भु वृत्तको हिरासतमा छिन्। वृत्तका डीएसपी मिलन केसीले अब अनुसन्धान सुरु गर्ने बताए। ‘आज अदालतबाट म्याद लिएका छौँ। पोस्टमार्टमको रिपोर्ट पनि आउन बाँकी छ, हामी सबै कोणबाट अनुसन्धान गर्छौं,’ डीएसपी केसीले भने।

पोस्टमार्टमपछि आफन्त डेरा फर्किएका छन्। उनीहरुको माग यत्ति हो, ‘हामीलाई न्याय हुनुपर्यो। हाम्रो मान्छे मार्नेलाई सजाय हुनु पर्यो।’उनीहरुले यही माग गरेका छन् प्रहरीसँग। ‘डीएसपी साबले न्याय दिने काम हामी गर्छौं। कानुनी दायरामा ल्याइसकेका छौं। सजाय दिने कुरामा हामी कमी राख्दैनौं भन्नु भएको छ। तर कस्तो खालको सजाय हुँदो रहेछ हेर्छौं,’ राधिकाले भनिन्, ‘हामीलाई त सपनाजस्तो भएको छ। राजधानी जस्तो ठाउँमा धामी भनेकैले मान्छे मारे। राज्यले खानतलासी गरे अरु त बाँच्थे कि भन्ने हाम्रो कुरा हो।’ नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*