‘टाइम १००’ मा बालेन शाह: विश्व प्रभावशाली नेताको सूचीमा नेपालको नयाँ अनुहार

कोल्हवी न्यूज
२०८३ बैशाख ३, बिहीबार ०७:४० गते

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अन्तर्राष्ट्रिय मञ्चमा थप चर्चामा आएका छन्। प्रतिष्ठित Time Magazine ले सार्वजनिक गरेको सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा उनको नाम समावेश भएको हो।

टाइमले उनलाई ‘नेता’ विधामा राख्दै विश्वका शक्तिशाली राजनीतिज्ञ, कलाकार र चिन्तकहरूसँगै स्थान दिएको छ। ३६ वर्षीय शाहलाई म्यागजिनले हिप–हप पृष्ठभूमिबाट उदाएका र नेपालको इतिहासकै कान्छो प्रधानमन्त्रीका रूपमा चित्रण गरेको छ।

उनको राजनीतिक यात्रालाई युवापुस्ताको व्यापक समर्थनसँग जोड्दै टाइमले पुराना दलहरूप्रतिको निराशाबाट आएको परिवर्तनको लहरले उनलाई सत्तासम्म पुर्‍याएको उल्लेख गरेको छ। सिभिल इन्जिनियरिङ अध्ययन गरेका शाहले काठमाडौँको मेयर हुँदा देखाएको सुधार—विशेषगरी फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा—अब राष्ट्रिय स्तरमा विस्तार गर्नु उनको मुख्य चुनौती रहेको टिप्पणी गरिएको छ।

टाइमको विश्लेषणअनुसार शाहको उदय दक्षिण एसियामा जरा गाडेको वंशवादी राजनीतिमाथि ठुलो चुनौतीका रूपमा हेरिएको छ।

यस वर्षको सूचीमा शाहसँगै डोनाल्ड ट्रम्प, सी जिनपिङ, पोप लियो चौधौँ, क्लाउडिया सेनबाम, मार्क कार्नीबेन्जामिन नेतान्याहु जस्ता प्रभावशाली नेताहरू पनि समावेश छन्।

व्यापार तथा प्रविधि क्षेत्रमा सुन्दर पिचाई, माइकल डेल, डेभिड एलिसनग्विन सटवेल ले स्थान बनाएका छन्।

मनोरञ्जन क्षेत्रमा रणवीर कपूर, जोई साल्डाना, डकोटा जोन्सन, केके पाल्मर, बेनिसियो डेल टोरोल्युक कोम्ब्स अटाएका छन्।

खेलकुद क्षेत्रमा स्कट्टी सेफलर, हिलारी नाइटलान्डो नोरिस रहेका छन् भने सामाजिक सञ्जालका चर्चित व्यक्तित्व मिस्टर बिस्ट पनि सूचीमा परेका छन्।

टाइममा प्रकाशित टिप्पणीअनुसार, “बालेनको उदयले केवल नेपालको नेतृत्व मात्र होइन, पुरानो राजनीतिक शैलीलाई अस्वीकार गर्ने नयाँ सोचको प्रतिनिधित्व गरेको छ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*