उत्तरी नाइजरमा एक करोड ९० लाख डलर पर्ने २१४ केजी कोकिनसहित मेयर पक्राउ

उत्तरी नाइजरमा एक जना स्थानीय मेयर र उनका ड्राइभरलाई प्रहरीले दुई सय किलोग्राम भन्दा बढी कोकिन राखिएको सवारी साधनसहित गिरफतार गरेको छ । उक्त परिमाणको अवैध लागु औषध लिबियातर्फ लाँदै गरेको अवस्थामा पक्राउ परेका दुवै जनाको नाम सार्वजनिक गरिएको छैन । कोकिन मालीबाट तस्करी गरेर नाइजर भित्र्याइएको अनुसन्धानबाट खुल्न आएको छ ।
नाइजरको लागुऔषध नियन्त्रण निकायले पश्चिम अफ्रिकी मुलुक नाइजरको इतिहासमै पहिलोपटक यति ठूलो परिमाणमा कोकिन बरामद भएको जनाएको छ । यस क्षेत्रमा प्रहरीले बारम्बार लागुपदार्थ बरामद गर्ने गरेको छ । मेयर र उनका ड्राइभरलाई थप अनुसनधानका लागि राजधानी नियामीमा ल्याइएका छन् । युरोपको बजारमा बरामद भएको कोकिनको प्रचलित मूल्य करिब १ करोड ९० लाख अमेरिकी डलर रहेको बताइएको छ ।
अगाडेज सहरदेखि करिब ४०० किलोमिटर उत्तरमा पर्ने टेनेरे मरुभूमिको फाचीमा तिनीहरूलाई नियन्त्रणमा लिइएको हो । यस क्षेत्रबाट युरोप र दक्षिण अमेरिकामा लागु औषधको तस्करी हुने गरेको छ । बीबीसीबाट ।










