टर्च बालेर सपत खाएका मन्त्री शर्माले ६ महिना बित्दा पनि गरेनन् कुनै काम

प्रदेश नम्बर २ मा खानेपानी तथा उर्जा विकास मन्त्रालय गठन भएको ६ महिना बितेको छ । मुख्यमन्त्री लालबाबु राउतले सरकारमा कांग्रेसलाई सहभागी गराउनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर खानेपानी तथा उर्जा विकास मन्त्रालय गठन गरेका थिए । मोवाईलको टर्च बाल्दै सपत खुवाएर नेपाली कांग्रेस पर्साको तर्फबाट समानुपातिक तिरका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मालाई मन्त्रालयको जिम्मेवारी दिइयो ।
तर, उनि कहलाउनका लागि मात्र मन्त्री भएका छन् । ६ महिनाको अवधिमा उनले कुनैपनि उपलब्धिमुलक काम गर्न सकेका छैनन् । यो कुरा समय–समयमा उनि आफै स्विकार्छन् । मन्त्री शर्माले मन्त्रालयमा समय नदिएको कारण नीतिगत किसिमका निर्णय र विकास निर्माणको काम हुननसकेको बुझिएको छ । व्यवसायी घरानाका शर्माले मन्त्रालयभन्दा पनि आफ्नो व्यापारलाई बढी प्राथमिकता दिने गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका उनि नेपालकै ठूलो व्यवसायीमा पर्छन ।
शर्मा महिनामा मुस्किलेले ५–७ दिनका लागि मन्त्रालयमा समय दिने गरेको उनकै मन्त्रलायका कर्मचारी बताउँछन् । जनकपुर पुगेको बेला पनि उनको व्यस्तता कार्यक्रमहरुमै बढी हुने गरेको छ । शर्माको मन्त्रलायमा अहिलेसम्म सचिव, इन्जिनियर र कम्प्युटर अपरेटर गरेर जम्मा ३ जना मात्र स्थायी कर्मचारी छन् । त्यहाँ कति जनाको दरबन्दी छ भन्ने कुरासमेत त्यँहीका कर्मचारीलाई थाहा छैन् । मन्त्रालयका सचिव पनि शर्मा जस्तै छन् । सचिव प्रेम कुमार सिंहले पनि मन्त्रालयमा खासै समय नदिने गरेको कर्मचारीहरुको दुखेसो छ ।
मन्त्री र सचिवबिहिन मन्त्रालयले कर्मचारीको भरमा गर्ने कामहरु कस्ता होलान हामी आफै अनुमान लगाउन सक्छौँ । यता, मन्त्री शर्माले मन्त्रालय सञ्चालन कार्यविधि नहुँदा आफ्नो हात बाँधीएको बताउने गरेका छन् । भौतिक पूर्वाधार मन्त्रालयबाट आफुलाई पूर्ण रुपले मन्त्रालय हस्तान्तरण गरिएको १० दिन मात्र भएकोले पनि अहिलेसम्म आफ्नो सोचअनुरुप काम गर्न नसकिएको शर्माको कथन छ ।
‘मन्त्रालय त पाए तर हात बाँधेर राखियो, मन्त्रालय सञ्चालन कार्यविधि आउनै ४ महिना लाग्यो, मन्त्रालय नै पूर्ण रुपले हस्तान्तरण गरेर हाम्रो हातमा आएको १० दिन जति भयो,’ शर्माले यात्राडेलीलाई भने, ‘अब यस्तो अवस्थामा काममा ढिला सुस्ती हुनु स्वाभाविक हो । तर, अहिले आएर केहि कामहरु अगाडी बढेको छ ।’
सिमित स्रोत र क्षमताका वावजुद पनि आफुले १० करोडको लागतमा प्रदेशका सबै जिल्लामा टावर लाईट लगाउने काम अगाडी बढाइएको उनले जानकारी दिए । त्यसैगरी सञ्चारकर्मीहरुको लागि विशेष प्याकेज ल्याउने काम पनि भइरहेको उनले बताए । ‘टावरलाईट जडानका लागि टेण्डर भएर मुल्यांकनको काम अगाडी बढेको छ । केहि दिनमा ८ वटै जिल्लाका आवश्यक स्थानमा जडान हुन्छ,’ उनले भने । यात्राडेलीबाट










