जेल भित्रैबाट लागुऔषध कारोबारको सेटिङ, कर्मचारीसहित १७ जना पक्राउ
कारागार भित्रैबाट सेटिङ मिलाएर ठूलो परिणाममा लागुऔषधको कारोबार भएको पाइएको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ७ हजार एम्पुल लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट प्रहरीले २ हजार ३ सय १६ एम्पुल डाइजेपाम, २ हजार ३ सय ५० एम्पुल फेनारगन, २ हजार ३ सय ३४ एम्पुल नुर्फिन बरामद गरेको ब्युरोका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।
उक्त लागुऔषध कारोबारका मुख्य अभियुक्त हाल रौतहट कारागारमा कैद भुक्तान गरिरहेका भारतीय नागरिक गुड्डु गुप्ता भएको प्रहरीको दाबी छ।
उनले यसअघि सिन्धुली कारागारमा हुँदा कारागारकै कार्यालय सहयोगी र टेलिफोन नाइके सन्तोष स्याङतानलाई समेत प्रयोग गरेर लागुऔषध कारोबारको सेटिङ मिलाउने गरेको खुलेको छ। हाल गुप्ता र स्याङ्तानलाई रौतहट कारागारमा सरुवा गरिएको छ।
गुप्ताले लागुऔषधको कारोबार गर्ने व्यक्तिलाई मासिक १५ हजार दिने र काठमाडौंमा डेराको समेत व्यवस्था गरिदिएर खटाएको पाइएको छ।
संग्राम मुक्तान, पञ्च स्याङतान, सुरज सिंह ठकुरी र अन्य दुई किशोरलाई मासिक तलव दिएर खटाएको पाइएको छ। उनीहरुले गुड्डुले भनेअनुसारका व्यक्तिलाई लागुऔषध बिक्री गर्ने गरेको खुलेको छ।
जेलभित्रैबाट गुड्डुले लागुऔषध पठाउने व्यक्तिको पनि जानकारी दिने र ठाउँ तोकेर लिन पठाउने गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरुले सिन्धुली कारागारकी सहयोगी रीता सारु मगरको नाममा रकम पठाउने गरेको पाइएको छ। रीताले त्यसरी आएको रकम गुप्तालाई दिन्थिन्।
गुड्डु २०६८ सालमा लागुऔषध खैरो हेरोइन ७०० ग्रामसहित पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले २०६९ कात्तिक २१ गते १८ वर्ष कैदको फैसला गरेको थियो। उनी यसअघि सिन्धुली कारागारमा र हाल रौतहट कारागारमा कैद भुक्तान गरिरहेका छन्।
सन्तोष पनि २०७६ सालमा ५५ केजी गाँजासहित सिन्धुलीमा पक्राउ परेका थिए। उनीविरुद्ध ५ वर्ष कैदको फैसला जिल्ला अदालत सिन्धुलीले गरेको छ। उनी पनि यसअघि सिन्धुली र हाल रौतहट कारागारमै छन्।