बारामा ६ हजार मेट्रिकटनले बढ्यो धानको उत्पादन

कोल्हवी न्यूज
२०७८ पुष १९, सोमबार १७:५५ गते

बारा जिल्लामा धान उत्पादनमा वृद्धि भएको छ । धान लागेको क्षेत्रफल बढेसँगै धान उत्पादनमा वृद्धि भएको हो ।

मनसुन समयमै सक्रिय भएपछि गत वर्षको तुलनामा यो वर्ष दुर्ई हजार ९ सय १४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो जसले गर्दा ६ हजार ३ सय ५२ मेट्रिकटन बढी धान उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्र बाराका अनुसार चालू आर्थिक वर्षमा दुर्ई लाख ६२ हजार ७ सय ४१ दशमलव २५ मेट्रिकटन धान उत्पादन भएको छ । अघिल्लो वर्ष दुर्ई लाख ५६ हजार ३ सय ८९ दशमलव २५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यो गत वर्षको तुलनामा ६ हजार ३ सय ५२ मेट्रिकटन धान बढी उत्पादन भएको हो ।

चालू आर्थिक वर्षमा उत्पादन भएको धानमध्ये अगहनी १ लाख ४१ हजार ५ सय ७७ दशमलव २५ मेट्रिक टन, भदैया ५१ हजार १ सय ९१ दशमलव ५ मेट्रिक टन र चैते धान ६९ हजार ९ सय ७२ दशमलव ५ मेट्रिक टन उत्पादन भएको केन्द्रका कृषि विज्ञ गेनालाल मण्डलले जानकारी दिए ।

उनका अनुसार चालू आर्थिक वर्षमा अगहनी ३४ हजार १ सय १२ हेक्टर, भदैया ११ हजार ९ सय ५ हेक्टर र चैते १५ हजार १ सय ५ गरी कुल ६१ हजार १ सय २५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो।

गत आर्थिक वर्षमा अगहनी एक लाख ४५ हजार २ सय १ दशमलव २५ मेट्रिक टन, भदैया ५४ हजार ८ सय ८२ दशमलव छ मेट्रिक टन र चैते धान ५३ हजार ३ सय ६ मेट्रिक टन उत्पादन भएको थियो । यसका लागि अगहनी १४ हजार १ सय ६५ हेक्टर, भदैया ११ हजार ९ सय ३१ हेक्टर र चैते १२ हजार १ सय १५ हेक्टर क्षेत्रफलमा लगाएको केन्द्रका कृषिविज्ञ मण्डलले जानकारी दिए ।

बारामा कुल ६९ हजार ९ सय ६३ हेक्टर कृषियोग्य जमीन रहेको छ । तीमध्ये चुरेपहाडतर्फ ९ सय ९५, तराईतर्फ ६१ हजार ८ सय १८ गरी कुल ६२ हजार ८ सय २३ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । तीमध्ये सात हजार १ सय ४० हेक्टर जमीन बाँझो रहेको छ भने वर्षैभरि सिञ्चित हुने ३३ हजार १ सय ३२ र आंशिक सिञ्चित हुने २९ हजार ६ सय ९१ हेक्टर क्षेत्रफल रहेको केन्द्रले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*