विद्युत महशुलमा छुट दिने व्यवस्थाबाट बारा-पर्साका ८ हजार ग्राहक लाभान्वित हुने

कोल्हवी न्यूज
२०७८ पुष १२, सोमबार ०६:१३ गते

नेपाल सरकारले चालु आर्थिक वर्षबाट नेपालभरका विद्युत उपभोक्तालाई २० यूनिटसम्मको महशुलमा छुट दिने सुविधा ल्याएपछि वीरगंज वितरण केन्द्रका आठ हजार ग्राहक लाभान्वित हुने देखिएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख जितेन्द्र कुमार झाका अनुसार पर्साको पोखरीया पश्चिम बाहेकका क्षेत्र र बाराका प्रसौनी र जितपुरसिमराका गरी कुल ८ हजार ग्राहक लाभान्वित हुने छन्।

चालु आवको पुस १ गतेदेखि योजना कार्यान्वयनमा आएको छ। उर्जामन्त्री पम्फा भुसालले मन्त्रिपरिषदबाट उक्त निर्णय गरेर नेपाल विद्युत प्राधिकरणको बोर्डबाट उक्त निर्णय स्वीकृत गराएपछि कार्यान्वयनमा आएको हो। पहिले २० यूनिटसम्म बिजुली बाल्ने ग्राहकले न्युनतम सय रुपैयाँ तिर्नु पर्थ्यो भने अहिले मात्र ३० रुपैयाँ तिरे पुग्छ। वीरगंजमा करिब मासिक ८ लाख विद्युत महसुल छुट हुने देखिएको छ।

वर्षमा करिब ९६ लाख रुपैयाँ वीरगंज वितरण केन्द्रबाट मात्रै छुट हुने अनुमान गरिएको छ। केही ग्राहकले नेपालभरीको एकै किसिमको योजना सान्दर्भिक नहुने गरेको गुनासो गर्दै नीतिमा संशोधन हुनुपर्ने माग गरेका छन्। पहाड र हिमाली क्षेत्रमा चिसो हुने भएकोले बत्ती मात्र बाल्ने काम गरिन्छ। तर, तराई मधेसमा बत्ती, पंखा, एसीलगायत बाल्ने भएकोले छुट गरिने युनिटको दर बढाउनु पर्ने माग गरेका छन्।

यस्तो नीतिले तराई मधेसका कम संख्या र पहाड र हिमाली क्षेत्रका ग्राहक बढी छुटको सुविधा उपभोग गर्ने तर्क गरिएको छ। गुम्टी र झोपडीमा बस्ने गरिब विपन्न परिवारले एक बत्ती र एक पखा महिना दिन बाल्यो भने २० युनिटसम्म बिजुली महसुल उठ्छ। प्राधिकरणले अहिले शुन्यदेखि अधिकतम १२ रुपैयाँ प्रति युनिटसम्म डोमेस्टिक र औद्योगिक प्रयोजनको डिमान्ड हेरी महसुल लिने गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*